राजनीति

धरानमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित , बाचा अनुसार नै आफूले काम गर्ने तर्क


काठमाडौँ — सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् । सत्ता गठबन्धन दलका उम्मेदवार नृपबहादुर वडालाई पराजित गर्दै उनी धनगढी उपमहानगर प्रमुखमा निर्वाचित भएका हुन् । उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार कन्दकला राना निर्वाचित भएकी छन् । १९ वटा वडा रहेको यस उपमहानगरपालिकाको ११ वडामा नेपाली काँग्रेसका उम्मेदवार वडा अध्यक्षमा निर्वाचित भएका छन् भने दुई वडामा नेकपा माओवादी केन्द्र र ६ वटा वडामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

वडा तहमा राजनीतिक दलहरुको वर्चश्व रहेको अवस्थामा उपमहानगर प्रमुखमा स्वतन्त्र रुपमा जितेका हमाललाई आफ्नो घोषणापत्र अनुसार काम गर्न कति सहज होला प्रश्न उठ्नु स्वाभाविक हो । हमाल भने आफूलाई काम गर्न कुनै समस्या नहुने बताउँछन् । मतदातासामु निर्वाचनअघि आफूले गरेको बाचा अनुसार नै आफूले काम गर्ने उनले बताए । वडामा बहुमत प्राप्त दलका जनप्रतिनिधिहरु छन् यस्तो अवस्थामा तपाई कसरी काम गर्नु हुन्छ भन्ने प्रश्नमा नगर प्रमुख हमालले भने निर्वाचनको समयमा यो चर्चा हुनु स्वाभाविक हो । विस्तारै सबै कुरा सुधार हुँदै जान्छ । म सबैलाई सँगै लिएर काम गर्ने छु ।

उनले दलबाट पूर्ण रुपमा सहयोग रहने विश्वास पनि व्यक्त गरे । सबै मिलेर धनगढी बनाउनुपर्छ । कसैलाई बाहिर राख्दिन, सबैलाई मिलाएर अघि बढ्छु उनले भने । उनले आफनो प्राथमिकता भने सचिवालय सुदृढीकरण रहेको बताए । उनले भने, योजना निर्माण गर्ने, विकासका मोडल बनाउने, अनुगमन गर्ने लगायत जनताका स–साना समस्याको समाधान गर्ने भनेको सचिवालयले नै हो । म पहिला कर्मचारीहरुसँग छलफल गरेर सचिवालयलाई व्यवस्थित गर्छु । उनले पहिला आधा अधुरा योजनाहरु सम्पन्न गर्ने आफनो प्राथमिकतामा रहेको बताए । अहिले सञ्चालित अधुरा योजनाहरु सम्पन्न गर्न मेरो प्राथमिकता रहने छ । सबै योजनामा गुणस्तरीयता कायम गर्दै समयमै सम्पन्न गराउने छु ।