काठमाडौँ — काठमाडौंमा जसरी बालेनको चर्चा छ, उसैगरी सुनसरीको धरानमा हर्क साम्पाङको । बालेनजस्तै स्थानीय तहको निर्वाचनमा साम्पाङ धरानको प्रमुख पदका स्वतन्त्र उमेदवार हुन् । चुनाव चिह्व लौरो नै हो । अनि मत आउने र अग्रता लिने क्रम उस्तैउस्तै भएकाले साम्पाङको चर्चा बालेनकै जस्तो छ । स्थानीय तह निर्वाचनको मनोनयन हुने दिन आउँदासम्म साम्पाङबारे जनमानसमा चासो बढिसकेको थियो ।
तर, त्योभन्दा धेरै धरानको मतगणना जतिजति अघि बढ्दै अन्तिम परिणाम नजिक पुगिरहेको छ, साम्पाङको विजयका लागि बुढासुब्बा र दन्तकालीमा भाकल गर्नेहरूसमेत बढ्न थालेका छन् । पछिल्लो दुई दिनयता साम्पाङले गठबन्धन दल र नेकपा एमालेका उमेदवारलाई पछि पारिरहेका छन् । “मलाई आम मतदाताले यतिधेरै माया गर्नुभएको छ कि मेरो उत्साहको कुनै सीमा छैन उनी भन्छन् “यत्रो ठूलो विश्वासका कारण विजयी भइन्छ भन्ने लागिरहेको छ ।
स्वतन्त्र उमेदवार बन्नु आफैँमा सहज छैन । तर, आफ्ना प्रष्ट एजेन्डा लिएर धराने जनतामाझ पुगेका उनी एकाएक लोकप्रिय भएका होइनन् । उनले धरानको माटो बुझेका छन् । यहाँको वातावरणसँग परिचित छन् । अनि जनताको चाहनाबारे जानकार छन् । संगठनको बलविना आफ्नो ‘एजेन्डा’ बोकेर मतदाता समक्ष पुगेका साम्पाङ केहीअघि सम्म पनि सामाजिक कार्यकर्ताको रूपमा परिचित थिए ।
उनले समाजमा भएका समस्यालाई उजागर गर्नेदेखि समन्वय गरेर समाधानमा पहल गर्ने गर्दथे । समाजका कतिपय विरोधाभाषलाई प्रष्टसँग राख्दथे । तर, अहिले परिवेश एकाएक बढेको छ । प्राप्त गर्दै गरेको मतले अब धरानको स्थानीय तहको बागडोर साम्पाङले सम्हाल्ने छन् भन्ने अड्कलबाजी हुन थालेको छ । उनी भन्छन्, “अन्तिम मत परिणाम प्राप्त नहुञ्जेलसम्म पर्खनुपर्ने नै अवस्था छ ।
धरानमा खानेपानीको समस्या पुरानै हो । समाधान गर्ने भन्दै धेरै राजनीतिक दलका नेताले भाषण गरे । निर्वाचन पनि जिते तर दीर्घकालीन समाधान गर्न कहिल्यै चासो दिएनन् । योपटक स्वतन्त्र उमेदवार साम्पाङले त्यही मुद्दालाई आफ्नो मूल एजेन्डा बनाएका छन् । धरानको खानेपानीको समस्या समाधानमा पहल गर्ने बताउँदै उनी भन्छन्, निर्वाचित भएँ भने खानेपानीको चुहावट र कालाबजारी तत्काल रोक्ने कामलाई प्राथमिकता दिने मेरो योजना छ । दलको आडमा हुने अपराध र गलत क्रियाकलाप मन नपरेकाले आफू कुनैपनि दलमा नगएको उनको भनाइ छ । सामान्य र विपन्न वर्गका लागि आफू केन्द्रित भएर काम गर्ने बताउने गरेका साम्पाङ सिद्धान्तको हिसाबले भने कम्युनिज्म मनपर्ने सुनाउँछन ।
काठमाडौंमा जस्तै दलबाहेकका नयाँ उमेदवार र केही गर्न चाहनेलाई जिताउनुपर्छ भन्ने धराने मतदाताको सोचका कारण नै साम्पाङलाई सबै वडाको मत प्राप्त भएको देखिएको छ । परिणाममुखी काम गर्ने साम्पाङको प्रतिबद्धताका कारण पनि नयाँ पुस्ताका मतदातको रोजाइमा समेत उनी परेको देखिएको छ । २०३९ सालमा खोटाङको खार्तम्छामा जन्मिएका उनले शुक्रबारे माविबाट एसएलसी उत्तीर्ण गरे । २०५५ सालमा उच्च शिक्षा अध्ययन गर्न धरान झरेर महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भए । त्यहीँबाट राजनीति र समाजशास्त्रमा स्नातकसम्म अध्ययन गरे ।
उनीपूर्व ब्रिटिस लाहुरेका छोरा हुन् । केही समय ट्युसन सेन्टरमा काम गरे । अंग्रेजी र कम्प्युटर विषय पढाए । पछि वैदेशिक रोजगारीमा इराक र अफगानिस्तान गए । ६ वर्ष जति काम गरे । उनी साहित्यमा रुचि राख्छन् । गीत लेख्छन् । गाउँछन् पनि । उनले ‘मिसिङ हर्ट’ नामको एउटा गीति एल्बम पनि निकालिसकेका छन् । २०७२ मा मदन भण्डारी राजमार्गले धनकुटे रोड किनारका सयौँ परिवारलाई उठिबास लगाउने भएपछि उनले त्यसको विरोध गरे । आन्दोलनमा सहभागी भए । त्यहीँबाट आफूले धरानका सामाजिक विषयलाई जनस्तरबाट उठान गर्न थालेको बताउँछन् ।
उनले धरानको खानेपानी समस्या, सुकुम्वासीको व्यवस्थापन, भ्रष्टाचार निवारण, महँगी नियन्त्रण र सडक संरक्षणको विषयमा बारम्बार आवाज उठाउने गरेका छन् । प्राकृतिक साधान स्रोतको अनधिकृत दोहनबारे पनि नले जोडदार ढंगले विरोध गर्दै आएका छन् । सीमाना अतिक्रमण होस् अथवा वैदेशिक रोजगारीका क्रममा युवाले पाएको समस्यामा साम्पाङ बोलेकै हुन्छन् । आफ्ना विचार प्रस्टसँग राखेकै हुन्छन् । २०७६ मा धरानमा स्थानीय तहको उपनिर्वाचनमा पनि साम्पाङ प्रमुख पदमा उठेका थिए । त्यतिबेला ४२२ मत प्राप्त गरे । योपटक भने उनको अवस्था अरू उमेदवारको भन्दा धेरै भिन्न छ । अहिले उनले अग्रता लिइरहेका छन् ।


प्रतिक्रिया