Breaking

भरतपुर महानगरपालिकामा अघिल्लो पटक मेयर लडेका ज्ञवाली भन्छन् झिनो आशा बाँकी नै छ


काठमाडौँ — भरतपुर महानगरपालिकाको वडा नम्बर ११ मै सोचेजस्तो नतिजा नआएपछि नेकपा एमालेले मेयर जित्ने सम्भावना कमजोर बनेको छ । यो महानगरको सबैभन्दा बढी मतदाता रहेको वडा हो । यहाँ १३८३८ मतदातामा यसपालि ९०८१ जनाले मतदान गरेका थिए । अहिलेसम्म यो वडाको ७८१३ मत गन्दा एमालेका विजय सुवेदीले २८३० र गठबन्धनका रेनु दाहालले २९६३ भोट पाएका छन् । ५७७७३ भोट गनेर सक्दा सुवेदी दाहालभन्दा ३१८१ भोटले पछि छन् । दाहालको २१६८३ र सुवेदीको १८५०२ भोट आएको छ । जगन्नाथ पौडेलले ८०६७ भोट ल्याएका छन् ।

एमालेका नेताहरूले गठबन्धनले बनाएको अग्रतालाई भरतपुरका वडा नम्बर १०, ११ र १२ मा भेटाउने दाबी गरेका थिए । तर वडा नम्बर १० मा सुवेदी दाहालभन्दा १४२ भोटले पछि परे । वडा नम्बर १२ मा ३६४३ मत गणना सकिँदा सुवेदी दाहालभन्दा २३९ भोटले अघि छन् । १२ मा लिड भइरहे पनि यति लिडले अब हामीलाई पुग्दैन । हामीले त १२ वडाको मत सकिँदा कम्तीमा बराबर बनाउन सक्नुपर्दथ्यो एमालेका नेता कृष्णभक्त पोखरेल भन्छन्, ११ र १२ नम्बरमा वडाध्यक्ष त पार्टीबाटै आउने भयो मेयरमा आउन सकेन ।

गणनास्थलमा रहेका एमालेका एक जना प्रतिनिधिका अनुसार भोटको ट्रेन्डलाई हेर्दा अब आउने वडाहरूमा पनि सुवेदीले धेरै मतान्तर ल्याउने सम्भावना देखिँदैन । वडा नम्बर ११ मा सुवेदी पछि पर्नुमा एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादी पार्टी मुख्य कारण देखिएको उनले बताए । समाजवादीले वडाध्यक्षमा एमालेलाई भोट हालेछन्, यसको बदलामा एमालेले मेयरमा गठबन्धनलाई हालिदिएछन्,ु उनले भने, राप्रपाको भोट पनि मेयरमा गठबन्धनलाई नै बढी गएको देखियो ।

भरतपुरमा एमालेले राप्रपासँग तालमेल गरेको थियो । तर दुबै पार्टीले तालमेलको मर्मअनुसार भोट नखसेको बताउँदै आएका छन् । यसले पश्चिम चितवनमा राप्रपाको प्रभाव राम्रो मानिने वडा नम्बर २३, २५, २७, २८ बाट पनि सोचेजस्तो भोट नआउने देखिएको एमालेका नेताहरू बताउँछन् । यो तालमेल त हाम्रो लागि अफापसिद्ध भयो । तालमेल नगरेको भए बरू एमालेको भोट एक ठाउँमा हुन्थ्यो, राप्रपाले मेयरमा आफ्नै मान्छे उठाउँथ्यो, पश्चिम चितवनको राजनीतिलाई राम्रोसँग बुझेका एमालेका प्रदेश सांसद कृष्णप्रसाद भुर्तेल भन्छन् ुअहिले त तालमेल हामीसँग भोट अर्कोतिर भयो । पश्चिममा राम्रो छ भनिएका ठाउँमा पनि हामीलाई भोट आउला जस्तो लाग्दैन ।

तालमेल असफल भएको राप्रपाका नेताहरू पनि स्वीकार्छन् । उनीहरूले एमालेका मतदाताले आफ्नो उपमेयरलाई भोट नहालेको बताएका छन् । राप्रपाका नेता जिवलाल पुरीले तालमेल उपल्लो तहमामात्रै सीमित बनेको जस्तो देखिएको बताए । तल्लो तहसम्म पुगेर संयुक्त कार्यक्रम गर्न एमालेले पनि सकेन, यसको असर दुबैतिर पर्‍यो, उनले भने । एमालेका कतिपय नेताले पश्चिमका वडाहरू १७, १८, १९ मा विजय सुवेदीको प्रभाव राम्रो रहेकोले त्यहाँ अग्रता लिन सक्ने आशा अझै रहेको बताएका छन् ।

तर गठबन्धनका नेताहरू सुवेदीको प्रभाव भनिएका क्षेत्रमा सामान्य भोटले लिड गरे पनि यसको खास अर्थ नहुने बताउँछन् । माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीले वडा नम्बर १३ र १४ मा दाहालले अग्रता थप फराकिलो बनाउने भएका त्यसपछिका केही वडामा सुवेदीले सामान्य मतले अग्रता लिँदैमा असर नगर्ने बताए ।

हामीले चुनाव जितिसक्यौं । अब मतान्तर कति हुन्छ भन्ने मात्रै बाँकी हो,उनी भन्छन् । एमालेका जिल्ला इन्चार्ज रहेका देवी ज्ञवालीले भने अझै पनि सुवेदीले मेयर जित्ने झिनो आशा जीवितै रहेको बताए । कुनै ठाउँको भोटको ट्रेन्ड हेरेर अन्तको पनि त्यसै हुन्छ कि भन्न त सकिने भयो तर चुनाव हो कुनै ठाउँको मतपेटिकामा नसोचेको भोट खस्न पनि सक्छ २०७४ मा भरतपुरको मेयरको उम्मेदवार रहेका ज्ञवालीले भने, अझै आशा मारेका छैनौं, झिनो आशा बाँकी नै छ ।