Breaking

पैसा बाड्न गएकी उम्मेदवार पत्नी कब्जामा, मौन अवधिमै भोट माग्दै नेता, कुटाकुट र हत्याका घटना, उम्मेदवार नै पक्राउ


काठमाडौँ — राजनीतिक दलहरुलाई चुनावी प्रचारको पर्याप्त समय दिएर निर्वाचन आयोगले मौन अवधि जारी गर्छ । तर मौन अवधिकै समयमा राजनीतिक दलहरु भोटमाग्ने देखि आपराधिक गतिविधिमा क्रियाशिल बनेका छन् । निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा सामाजिक सञ्जालबाट समेत भोट माग्न पाइँदैन । तर नेकपा एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्बीसुब्बा गुरुङले बुधबार बिहानै आफ्नो आधिकारिक फेसबुक पेजमा भोट माग्दै भिडियो शेयर गरे ।

जबकि मंगलबार राति १२ बजेदेखि नै मौन अवधि सुरु भएको थियो ।गुरुङको भिडियोमा प्रतिक्रिया जनाउँदै फेसबुक प्रयोगकर्ताहरुले विरोध गरे । लगत्तै गुरुङको फेसबुकबाट उक्त भिडियो नै हटाइयो । निर्वाचन आयोगले अहिले यो विषयलाई नोटिसमा राखेको छ । निर्वाचनलाई स्वच्छ, धाँधलीरहित, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन तोकिएको मौन अवधि मतदान नसकिएसम्म कायम रहन्छ ।कुनै पनि खाले चलखेल गर्न राजनीतिक दल र उम्मेदवारलाई छुट छैन ।

तर रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयरकाउम्मेदवार बाबुराम भट्टराइले यही अवधिमा पैसा बाँडेको भन्दै उनकी श्रीमती कब्जामा परेकी छन् । एमालेबाट उपमहानगरको मेयर उम्मेदवार बनेका भट्टराईकी श्रीमती माया भट्टराई बुधबार ११ नम्बर वडामा पर्ने मझुवा टोलको सुकुम्बासी वस्तीमा गएकी थिइन । बस्तीमा पैसा बाडिरहेको भन्दै नेपाली कांग्रेसका कार्यकर्तालेउनलाई कब्जामा लिए र स्थानीय सिर्जना भूसालको घरमा थुनिदिए । पछि प्रहरीले उनको उद्दार गरेको थियो । यही अवधिमा कतै उम्मेदवार नै पक्राउ परेका छन् भने कतै हत्याहिंसा जस्ता घटना भइरहेका छन् ।

यस्तो बेला मतदाता नै सचेत हुनुपर्ने विज्ञहरु बताउँछन् । स्थानीय महिलाको विभत्स हत्या भएपछि रुकुम पूर्वका दुई वडाध्यक्षका उम्मेदवार पक्राउ परेका छन् । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका–११, तल्लोसेराकी ३८ वर्षीया दुथी बुढा मगरको शव स्थानीय जंगलमा फेला परेको थियो ।गाउँबाट वैशाख १९ देखि हराएकी उनको २६ वैशाखमा शव भेटिएपछि माओवादी केन्द्रका नेता तथा वडा नं. ११ का वडाध्यक्ष जयकुमार बुढा, उनका भाइ अर्जुन बुढा र माओवादीबाट वडाध्यक्षका उम्मेदवार बनेका कुमार सिंह पक्राउ परेका छन् ।

एमाले कार्यकर्तासमेत रहेकी बुढाको शव फेला परेपछि एमाले र माओवादीबीच तनाव बढेको छ ।यस्तै हत्या चितवनको भरतपुरमा समेत भएको थियो । काँग्रेस कार्यकर्ता अनिल परियारमाथि धारिलो हतियार प्रयोग गरि हत्या गरेको भन्दै काँग्रेस चितवनले प्रदर्शन र राजमार्ग बन्द गराएको थियो । राजनीतिक दलहरुले मौन अवधिकै समयलाई भोट खिच्ने अन्तिम अवसरका रुपमा सदुपयोग गर्न गरिरहेका छन् ।

निर्वाचन शान्तिपूर्ण वातारणमा सम्पन्न गराउन सरकारले रणनीतिक सुरक्षा योजना बनाएर लागू गरेको बताइरहेको छ । तर यही अवधिमा कतै कार्यकर्ता हत्या त, कतै पारिवारिक हमलाका घटनाले सरकारको रणनीतिक सुरक्षा योजना कमजोर भएको हो कि भन्ने आशंका मात्र होइन निर्वाचन आयोगले जारी गरेको आचारसंहिताकै धज्जी उडाइरहेको छ ।