Breaking

भोजभतेर, पैसा बाँड्ने काम गरे तत्काल कारबाही गर्ने


काठमाडौँ — निर्वाचन आयोगले मौन अवधिमा भोजभतेर,पैसा बाँड्नेहरूलाई तत्काल कारबाही गर्ने चेतावनी दिएको छ । मंगलबार पत्रकार सम्मेलन गरी मौन अवधिमा भोजभतेर गर्ने, पैसा बाँड्ने, सभा सम्मलेन गर्नेहरूलाई तत्कालै कारबाही गर्ने प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आज मध्यराति देखि मौन अवधि सुरू हुँदैछ । त्यसबीच आचारसंहिताको उल्लंघन भएको पाइएमा तत्काल कारबाही गर्ने चेतावनी दिएको हो ।

त्यसको लागि कारबाही गर्न सक्ने अधिकार दिएर १९ वटा उच्चस्तरीय टोली गठन समेत गरिएको आयोग प्रवक्ता सहसचिव पौडेलले बताए । उनका अनुसार आयोगले तुलनात्मक रूपमा संवेदनशील स्थानहरूमा सो टोलीलाई परिचालन गरिसकेको छ । निर्वाचन आचार संहिताको पूर्ण पालनाको लागि आयोगले उल्लंघनका घटनामा तत्काल कारबाही गर्न सक्ने अधिकारसमेत दिई १९ वटा उच्चस्तरीय टोली विभिन्न तुलनात्मक रूपमा संवेदनशील स्थानहरूमा परिचालन गरिएको छ ।

यस्तै, उक्त टोलीले आवश्यकताअनुसार निर्वाचनको गोपनीयतामा असर नपर्नेगरी निर्वाचनसँग सम्बन्धित दृश्यको छायाँकन गर्ने, भिडिओ क्यामरा वा अन्य विद्युतीय उपकरण समेत प्रयोग गर्न अधिकार दिएको छ । आयोगले मौन अवधिमा भोजभतेर, पैसा बाँड्ने काम पनि हुनसक्ने भन्दै तत्काल कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

‘मौन अवधिमा आमसभा कार्यशाला गोष्ठी, सम्मलेन, भोजभतेर, पैसा बाँड्ने काम भए नभएको र सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार अभिव्यक्ति दिने काम भएरनभएको अनुगमन गरी त्यस्तो कार्य भए गरेको पाइएमा तत्काल आवश्यक कारबाही गरी आयोगलाई जानकारी गराउने अधिकार दिइएको छ ।