देश

एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच ढुंगा हानाहान


काठमाडौँ — तनहुँको घिरिङमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ । सोमबार घिरिङ गाउँपालिका पुट्टारमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा गएका एक बालक कालीगण्डकी नदीमा बेपत्ता भएको विषयमा दुवै पक्षबीच ढुंगा हानाहान भएको हो । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले सोमबार आयोजना गरेको चुनावी सभामा गएका घिरिङ–५ का १३ वर्षीय इश्वर विक पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । बालक हराएपछि बालकका आमाले गाँउपालिका अगाडि धर्ना दिएकी थिइन् ।

सोही विषयमा गाँउपालिकाको सर्वदलीय बैठकमा सहभागी हुने क्रममा दुवै पक्षबीच ढुंगा हानाहान भएको हो । यसैबीच नेपाली का‌ंग्रेस तनहुँले पार्टीका घिरिङ गाँउ कार्यसमितका सभापति यामबहादुर थापामाथि हातपात भएको भन्दै उक्त घट्नाप्रति आपत्ति जनाएको छ । पार्टीका जिल्ला सभापति जीतप्रकाश आलेले एक विज्ञप्ति जारी गदै नेपाली कांग्रेस घिरिङ गाँउ कार्यसमितका सभापति थापामाथि हातपात गर्ने एमालेका कार्यकता भुवन विक लगायतको समूहलाई कारबाही गर्न माग गरेका छन् ।