देश

एमाले र समाजवादी पार्टी जसपाबीच चुनावी तालमेल


काठमाडौँ — गोरखाको पालुङटार नगरपालिकामा नेकपा एमाले र जनता समाजवादी पार्टी जसपाबीच चुनावी तालमेल भएको छ । जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको गृह नगरमा सत्ता गठबन्धन सम्बद्ध जसपाले एमालेसँग तालमेल गरेको हो । नेपाली काँग्रेससँग गरिएको तालमेल भाँडिएपछि जसपाले एमालेको साथ लिएको छ । पाँच दलीय गठबन्धन दल बाहिर गएर तालमेल नगर्न नमिल्ने गठबन्धनको केन्द्रीय नीति विपरीत पालुङटारमा एमाले र जसपाबीच तालमेल भएको छ । गठबन्धनका शीर्ष नेता भट्टराईको समन्वयमा मंगलबार दिउँसो एमाले र जसपाको जिल्ला नेतृत्वले तालमेलको निर्णय लिएको छ । उक्त तालमेल अनुसार एमालेले मेयरमा जसपालाई र जसपाले उपमेयरमा एमाले सहयोग गर्ने निर्णय भएको जसपा गोरखाका अध्यक्ष यानप्रसाद भट्टले जानकारी दिए । ​

एमालेका मेयरका उम्मेदवार हरि भट्टले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् भने जसपाको उपमेयरका उम्मेदवारको उम्मेदवारी वैशाख १६ गते नै फिर्ता भएको थियो । भट्टका अनुसार पालुङटारका १० वटा वडा मध्ये पाँच वडामा एमाले र जसपाबीच तालमेल भएको छ । ६, ७ र १० नम्बर वडामा जसपाले एमालेलाई सहयोग गर्ने छ भने ४ र ५ नम्बर वडामा एमालेले जसपालाई समर्थन गरेको छ । बाँकी वडामा पनि मिलाएर जाने जसपा अध्यक्ष भट्टको भनाइ छ ।