Breaking

काठमाडौं महानगरको प्रतिष्पर्धा थप रोचक बन्दै, उम्मेद्वारका आ–आफ्नै दाबी


काठमाडौँ — देशकै राजधानी भएकोले पनि काठमाडौं महानगरको चुनावी प्रतिष्पर्धालाई धेरैले नजिकबाट नियालिरहेका छन् । त्यसैगरी मेयरका उम्मेद्वारहरु पनि आ आफ्नो एजेण्डासहित मतदाताकोमा पुगिरहेका छन् । उम्मेद्वारहरुले काठमाडौंलाई सुन्दर र शान्त शहर बनाउनेमा जोड दिने गरेका छन् । नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार दिनुभएका नेता केशव स्थापितले आफू मेयर बनेपछि काठमाडौंलाई बिना पर्खालको खुल्ला काठमाडौं बनाउने घोषणा गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित वागमती किनारका पालिकाहरुमा प्रमुख र उपप्रमुखका उम्मेदवारहरुसँगको अन्तरक्रिया तथा प्रतिवद्धता कार्यक्रममा बोल्दै उनले अझै पनि काठमाडौंमा एक तिहाई भाग खुला भएको दाबी गरे । उनले काठमाडौं भित्र रहेका २४७ वटा निजी तथा सरकारी ठाउँमा लगाएका पर्खाल भत्काउने र सबैलाई प्रवेश दिने व्यवस्था गर्ने घोषणा गरे । मेयरका उम्मेदवार स्थापितले स्वीट्जरल्याण्ड पार्कमा अक्सिजन प्लान्ट स्थापना गर्ने र त्यसको लागत महानगरे व्यहोर्ने घोषणा गरे ।

त्यस्तै कार्यक्रममा सत्तारुढ गठबन्धनको तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले आफू मेयर भएपछि काठमाडौं महानगरपालिका भित्रका घर परिवारमा बच्चा जन्मिएपछि एक बिरुवा रोप्ने अभियान शुरु गर्ने बताइन् । उनले काठमाडौंमा फोहोरको व्यवस्थापन गर्न कुनै ठूलो कुरा नभएको भन्दै यो व्यवस्थापन गर्न नजान्दा भएको कमजोरी रहेको बताइन् । त्यस्तै विवेकशील साझा पार्टीबाट काठमाडौंको मेयरमा उम्मेदवारी दिएकी नेतृ समीक्षा बास्कोटाले आफू मेयर बनेका सबैभन्दा पहिला फोहोर व्यवस्थापनमा ध्यान दिने बताइन् ।

उनले घरबाट नै फोहोरको व्यवस्थापन गर्न सकिने बताउँदै घरबाट नै कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्ने बताइन् । मेयरकी उम्मेदवार बासकोटाले काठमाडौं महानगरपालिकाभित्र रहेका खुल्ला क्षेत्रलाई सर्वसुलव पार्क बनाउने आफ्नो पार्टीको योजना रहेको बताइन्