राजनीति

महत्वपुर्ण युनिट मानिएको लागुऔषध नियन्त्रण ब्यूरो डेढ महिनादेखि नेतृत्वविहीन


काठमाडौँ – केन्द्रिय अनुसन्धान ब्यूरो मातहत रहेको लागुऔषध नियन्त्रण ब्यूरो करिब डेढ महिनादेखि नेतृत्वविहीन छ । देशभर लागुऔषधको ओसारपसार र बेचविखन दैनिक बढिरहेको तथ्यांकले देखाइरहदा ब्यूरो भने निष्कृय जस्तै बनेको छ ।

ब्यूरोमा कार्यरत प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) हृदय थापा २०७८ चैत १५ देखि ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएपछि ब्यूरो नेतृत्वविहीन हुन पुगेको हो । थापाको अवकाशपछि ब्यूरोको कमाण्ड प्रहरी उपरिक्षक जिवन श्रेष्ठले गरिरहेका छन् । तर, करिब डेढ महिना बितिसक्दा पनि गृहले युनिटको प्रमुखमा कसैलाई पठाएको छैन ।

लागू औषध नियन्त्रण ब्यूरोमा कुनै बेला प्रहरी नायव महानिरीक्षक (डीआईजी)ले कमाण्ड गरेका थिए । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले डीआईजीको दरबन्दी कटौती गरेर ब्यूरोमा एसएसपीलाई प्रमुखको जिम्मेवारी दिएको थियो ।

प्रहरी नियमावली अनुसार एसएसपी सरुवाको अधिकार गृह मन्त्रालयलाई छ । मन्त्रालयले डेढ महिनादेखि ब्यूरोमा एसएसपी खटाउन सकेको छैन् । ब्यूरोमा जान कसैले चासो समेत नदेखाएको प्रहरी प्रधान कार्यालय जनाउदै आएको छ ।