Breaking

सोलुखुम्बुमा चुनावी सरगर्मी, राजनीतिक दल र मतदाता उत्साहित


काठमाडौँ — हिमाली जिल्ला सोलुखुम्बु चुनावी सरगर्मीले राजनीतिक दल, प्रशासन तथा मतदाताहरुलाई उत्साहीत बनाएको छ । आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि हिमाली जिल्लामा पनि उम्मेदवारहरुको प्रचार प्रसार र मतदाताहरुको उत्साह अन्यत्र भन्दा कमी छैन ।
हिमाली जिल्ला सोलुखुम्बुमा एक नगरपालिका।सहित ८ वटा स्थानीय तह छन् । विश्वको सर्वाेच्च शिखर सगरमाथा अवस्थित खुम्बुपासाङल्हमु गाउँपालिकादेखि तल्लो भूभाग समेटिएको नेचा सल्यान गाउँपालिकासम्म दलहरुको चुनावी प्रचार प्रसारका कार्यक्रमहरु व्याप्त छन् ।

हरेक उम्मेदवारहरु आफ्नो चुनाव चिन्हसहित प्रचारप्रसारमा व्यस्त देखिएका छन् भने उनीहरुमा स्थानीय तहको निर्वाचनमा भाग लिन पाउँदा उत्साह भरिएको छ । नगरपालिकामा मात्रै होइन, गाउँपालिका तथा वडाहरुमा पनि चुनावी प्रचार प्रसार, आफूलाई मत माग्न मतदाताको घरदैलो गर्ने कार्य पनि संघ संगै भइरहेको छ । विशेषगरी सोलुखुम्बुमा दलहरुबीच खासै गठवन्धन देखिएको छैन । नगरपालिकामा प्रमुख दलहरु एक्लाएक्लै चुनावी मैदानमा छ भने गाउँपालिकाहरुमा पनि गठवन्धनको कुनै प्रभाव देखिएको छैन । नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको आ आफ्नै प्यानल उम्मेदवारहरु रहेका छन् ।

सबै दलहरुको अधिकतम आफ्नो जीतका लागि संघर्ष गरिरहेका छन् । मौसमी बदलीका कारण हरेक दिन जसो भइरहेको बर्षाका कारण चुनावी भेला तथा कार्यक्रमहरु सोलुखूम्बुमा प्रभावित भएको देखिन्छ । तथापी हालसम्म जिल्लामा निर्वाचनका सम्पूर्ण कार्यहरु शान्तिपूर्वक, आचासंहिताका उल्लंघन नहुने गरी भइरहेको प्रमुख जिल्ला अधिकारी अनिल खनालले जानकारी दिए । अघिल्ले बर्ष नगरपालिकामा नसमेटिएको भन्दै विरोध जनाएका तिङलाका मतदाताहरु पनि यस पटक स्थानीय तहको निर्वाचनमा भाग लिँदै छन् ।

हिमाली भेगका मतदाताहरु आफ्नो मन परेका उम्मेदवारहरुलाई मतदान गर्न बैशाख ३० को पर्खाइमा देखिएका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा सुरक्षा चूनौति पनि बढि हुने गर्दछ । त्यसो त नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र आवश्यकताका आधारमा नेपाली सेना समेतको समन्वयमा कर्मचारी व्यवस्थापनसहित निर्वाचनको सम्पूर्ण तयारी गरिएको प्रमुख जिल्ला अधिकारी खनालको भनाई छ । सोलुखुम्बुमा ८ स्थानीय तहमा १२२ मतदान स्थल रहेका छन् भने १३४ मतदान केन्द्र तोकिएका छन् । दुर्गम क्षेत्र भएकाले मतपत्रहरु ढुवानीका लागि केही गाउउँपालिकामा हेलीकोप्टरको समेत प्रयोग गर्ने प्रशासनको तयारी छ ।