देश

एमाले पार्टीलाई जिताएर के गर्नुहुन्छ ?: सभापति देउवा


काठमाडौँ —काँग्रेस सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन बुटवलवासीलाई आग्रह गरेका छन् । शंका उपशंका नगरी मत दिएर गठबन्धनले उठाएका उम्मेदवारहरूलाई जिताउँदा गठबन्धनको भविष्य लामो हुने पनि बताए । गठबन्धनलाई उनले राष्ट्रिय आवश्यकताको रूपमा अर्थ्याएका छन् ।

‘यो गठबन्धन आवश्यक छ । गठबन्धनको भविष्यका लागि उम्मेदवारहरूलाई जिताउनु आवश्यक छ । सङ्घीयता, गणतन्त्र र लोकतन्त्रलाई स्थायी रूपमा बचाउन पनि गठबन्धन आवश्यक छ’, रुपन्देहीको बुटवलमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धन दहरूबीच तालमेल गरेर उम्मेदवारी दिइएको छ । गठबन्धनका सबै साथीहरूलाई शंका उपशंका नगरी जिताउनुपर्छ ।’

देशको स्थायी विकास गर्न, सुकुम्वासीहरूको समस्या समाधान गर्नदेखि राजनीतिक व्यवस्थाहरु जोगाउन पनि गठबन्धन बनेको देउवाले प्रष्ट पारे । उनले बुटवलवासीलाई नेकपा एमालेका उम्मेदवारलाई मत नदिन आग्रह गरे । उनले भनेका छन्, ‘ओलीजीको पार्टीलाई जिताएर के गर्नुहुन्छ संसद् विघटन गरेको गरेकै गर्नुभयो । अदालतले न्याय गरेर संसद् पुनःस्थापना गर्‍यो तर चल्न दिएको छैन ।’