Breaking

आलमलाई थुनामुक्त नगर्न सर्वोच्चको आदेश


काठमाडौँ — बम विस्फोटक अभियोगमा जेल चलान भएका कांग्रेस नेता अफताब आलमलाई थुनामुक्त नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमलाई थुनामुक्त गर्न नपर्ने ठहर गरेको हो । यसअघि उच्च अदालतले आलमलाई थुनामा पठाउन आदेश दिए पनि त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

शुक्रबार उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले आलमलाई थुनामुक्त गर्न नपर्ने ठहर गरेको हो । २०६४ सालमा कांग्रेसका सांसदसमेत रहेका आलममाथि रौतहटमा संविधानसभा निर्वाचनपूर्व बम विस्फोट गराएको र घाइतेहरूलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोप छ । उक्त आरोपसँगै सांसद पदबाट निलम्बित भएका उनलाई २०७६ असोजमा प्रहरीले पक्राउ गरेको थियो ।