Breaking

महानगरपालिकामा मेयर पदका लागि उम्मेदवारी समीक्षा र बालेनका सकस


काठमाडौँ — महानगरपालिकामा मेयर पदका लागि उम्मेदवारी दिएकी विवेकशील साझाकी उम्मेदवार समीक्षा बास्कोटा र स्वतन्त्र उम्मेदवार बालेन शाह अहिले सामाजिक सञ्जालमा चर्चामा रहेका उम्मेदवार हुन् । तुलनात्मक रुपमा समीक्षाको भन्दा बालेनको चर्चा धेरै छ । तर, बालेनलाई आफैले कुनैबेला गाएको गीत यतिबेला घाँडो बनेको छ भने समीक्षालाई पार्टीभित्रको आन्तरिक कलह चुनावमा मुख्य चुनौती बनेको छ । अघिल्लो पटक काठमाडौंको मेयरमा विवेकशीलबाट उम्मेदवारी दिएकी रञ्जु दर्शनाको जुन स्तरको चर्चा थियो समीक्षा बास्कोटाको त्यो स्तरको चर्चा छैन । सामाजिक सञ्जालमा चर्चाका हिसाबले बालेन शाह समीक्षा बास्कोटा भन्दा धेरै अघि छन् । तर, बालेनले कुनैबेला महिलाको घोर अपमान हुनेगरी गीत गाएको भन्दै उनको आलोचना भइरहेको छ । काठमाडौंको नेशनल कलेजमा भावना राउतले केशव स्थापितको पारो छुट्नेगरी प्रश्न गरेकै दिन उनले बालेन शाहलाई पनि गीतका विषयमा प्रश्न गरेकी थिइन् ।

बालेन शाहले महिलाको अपमान हुनेगरी गाएको भनिएको गीत अहिले सामाजिक सञ्जालमा भाइरल छ । परिवारसँग बसेर सुन्नै नसकिने गीत गाएको भन्दै बालेन शाहमाथि प्रश्न मात्रै उठाइएको छैन बालेन जस्तालाई मेयरमा जिताइयो भने महिलाको हविगत के होला भनेर व्यंग्य पनि गरिएको छ । अहिले भाइरल भएको गीतमा बालेनले महिला र पुरुषका संवेदनशील अंगलाई इंगित गर्दै गीत गाएको देखिन्छ । छाडा गीत गाएको भनेर बालेनमाथि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भएको छ । चुनावी अभियानमा जुटेका बालेन शाहलाई अहिले त्यही विवादास्पद गीतले लखेटेको छ । उता विवेकशील साझाबाट काठमाडौंको मेयरमा उम्मेदवारी दिएकी समीक्षा बास्कोटालाई भने पार्टीभित्रको आन्तरिक कलहले अप्ठ्यारो पारेको छ ।

अघिल्लोपटक प्रदेशसभा सदस्यमा काठमाडौंबाट चुनाव लडेकी समीक्षा यसपटक फेरि मेयरमा आएको भन्दै पार्टीभित्रको एउटा समुह उनको विपक्षमा लागिरहेको छ । समीक्षाका सवालमा विवेकशील साझा एक ढिक्का छैन । यसलाई हेर्दा पार्टीभित्रको अन्तरघात उनले बेहोर्नुपर्ने देखिन्छ । विवेकशील साझाभित्रको असन्तुष्ट समुह उनीमाथि विभिन्न आरोप लगाउँदै समिक्षा हराउ अभियानमा नै लागेको छ । विवेकशील साझाका महासचिव रहिसकेका निर्देश सिलवाल देखि लिएर संयोजक मिलन पाण्डेसम्मका फेसबुक स्टाटस हेर्दा समीक्षा पराजित भए हुन्थ्यो भन्ने भाव देखिन्छ ।