Breaking

बालेनको घरदैलो : सेल्फी खिच्ने र टिकटक बनाउनेको घुईचो


काठमाडौँ — पुरानै भेषमा सजिएका छन् बालेन साह । कालो चस्मा, टिसर्टमाथि कालो कोट पाइन्ट, जुत्ता अनि अनि काँधमा नेपालको झण्डा र हातमा लौरो लिएर आफ्नै गतिमा दौडिरहेका छन् साह । घर, पसल, बार्दली अनि सडकका दायाँ बायाँ किनारमा बसेका मतदातालाई नमस्कार गर्दै आफ्नो चुनावी घोषणा पत्र थमाउँदैमा उनी व्यस्त छन् । भ्रष्टाचारीलाई चोटै चोट, बालेन साहलाई भोटै भोट । युवा अघि सर्छ, देश अघि बढ्छ,’ बुधबार साँझ काठमाडौँ महानगरपालिका–७ सिफल क्षेत्रमा घरदैलो कार्यक्रममा भेटिएका बालेनका अघि पछि गुञ्जिएका नारा हुन् यी । लौरो चुनाव चिन्ह अङ्कित झण्डासँगै गुञ्जिएका नारामा युवाको जोश थियो, मेयर बनेर महानगरको कायापलट गर्छु भन्ने आत्मविश्वास बालेनमा देखिन्थ्यो ।

तर, उनका साथमा सिफलबासी मतदाताभन्दा उनका फ्यान फलोअर्सको क्रेज उच्च थियो । सिफल चौतारा नजिकैबाट सुरु भएको बालेनको घरदैलो अभियानमा साथ दिइरहेका थिए कलाकार निर्मल शर्मा गैँडा , स्वप्निल शर्मा आदि । सिफल क्षेत्र कलाकार शर्माको आफ्नै बसोबासको क्षेत्र पनि हो, त्यसैले बालेनलाई सहजीकरण गर्न उनको उपस्थिति त्यहाँ अर्थपूर्ण थियो । सुरुमा १५र२० जना भेला भएर सिफल चौतारा नजिकैबाट सुरु भएको घरदैलो अभियानमा त्यसको १५र२० मिनेट पछि सयरडेढ सयको उपस्थिति पुग्यो ।

तर, त्यहाँ बालेनका मतदाताभन्दा उनीसँग सेल्फी खिच्न, टिकटक बनाउन रुचाउनेको उपस्थिति बाक्लिँदै गएको भान हुन्थ्यो । अझ भनौँ सामाजिक सञ्जालबाट बालेनलाई चिन्नेहरूको भीड त्यहाँ बढ्दै थियो । बालेनको चुनावी घरदैलो कार्यक्रममा करिब १ घण्टा सँगसँगै रह्यो । अन्य राजनीतिक दल वा दलका उम्मेदवार भन्दा उनको अभियान केही भिन्न देखिन्थ्यो । उनी नमस्कार गर्ने, लौरोमा भोट माग्ने अनि घोषणापत्र तथा नमुना मतपत्र हात हातमा थमाएर महानगरका सबै घरमा पुग्ने अभियानमा थिए । आफ्नो घरको मूल गेटमा बालेनलाई देख्नासाथ सिफलका स्थानीय एलपी प्रसाईले खुसी हुँदै खादा र रुद्राक्षको माला लगाएर जितको अग्रिम शुभकामना दिए ।