Breaking

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान पुनः सुचारु


काठमाडौँ — त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान पुनः सुचारु भएको छ ।

आज (बुधवार) विमानस्थलको आन्तरिक टर्मिनल बिल्डिङतर्फ ७ वटा बम रहेको सूचना आएपछि अवरुद्ध भएको आन्तरिक उडान सेवा पुनः सुचारु भएको हो । बुधवार बिहान विदेशबाट एक अज्ञात व्यक्तिले फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनल बिल्डिङतर्फ ७ ठाउँमा बम राखेको सूचना दिएपछि आन्तरिक उडान–अवतरण सेवा करिव १ घण्टासम्म अवरुद्ध भएको थियो । बम रहेको सूचना पाएपछि विमानस्थल प्रशासन र सुरक्षाकर्मीहरुले विमानस्थल क्षेत्रको जेकजाँच गरेका थिए ।

जसमा कुनै पनि शंकास्पद वस्तु नरहको प्रमाणित भएको छ । सूचना फैलाउने व्यक्तिले भ्रामक सूचना दिएकाले प्रहरीले उक्त भ्रामक सूचना दिने व्यक्तिको बारेमा अनुसन्धान गरिहेको जनाएको छ । सञ्चारकर्मीहरुसँगको कुराकानीमा विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले कार्यालयको टेलिफोनमा ९ः४० देखि ९ः५० को बीचमा दुई पटक फोन गरेर बम राखेको सूचना दिएकोले अनुसन्धान गरेको तर कुनै पनि शंकास्पद वस्तु फेला नपरेको बताउनु भयो । उहाँले कुनै शंकास्पद वस्तु नपाइएपछि पुनः उडान सेवा शुरु गरिएको जानकारी दिनुभयो । उहाँले भ्रामक सूचना दिने व्यक्तिले नेपालीमा कुरा गरेको बताउनु भयो ।