Breaking

आगामी दुवै निर्वाचनमा पाँचै दललाई ‘कर्‍याककुरुक’ पार्छौं: अध्यक्ष ओली


काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी दुवै निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एमाले प्रतिस्पर्धा गर्न इच्छुक रहेको बताएका छन् । गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिका १ गोल्धापमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले दुवै निर्वाचनमार्फत एमालेले पाँच वटै दललाई ‘पत्तासाफ’ गर्ने दाबी गरेका छन् । पूर्वप्रधानमन्त्री रहेका ओलीले गठबन्धन टुट्ने हो कि भन्ने डर आफूलाई रहेको व्यंग्य गरे । ‘मलाई डर के छ भने हत्तपत्त यो गठबन्धन टुटिहाल्ला कि भन्ने डर छ ।

पाँचै जना दललाई एकै पटक ‘कर्‍याककुरुक’ पारेर फाल्दिनु जति आनन्द केहीमा हुँदैन’ उनले भने । उनले एमालेको शक्तिका कारण मुलुकको राजनीति नै दुई धारमा मात्र सीमित बनेको टिप्पणी गरे । ‘आज राष्ट्रिय राजनीति दुई भागमा बाँडिएको छ । एमाले कस्तो भए छ त अहिले भन्दा, एकतिर एमाले, अरु बाँकी अर्कातिर । त्यहीँ पनि बहुमत एमालेको । आज देश यस स्थितिमा पुगेको छ,’ ओलीले भने,‘एमालेसंग भिड्न एक्लै कसैले होइन, चार जनाले पनि चिताउन सक्दैन, पाँचै जना चाहिन्छ ।’ ओलीले गठबन्धनका कारण एमालेलाई धेरै फाइदा पुगेको टिप्पणी गरे ।