काठमाडौँ – भारतीय आयल कर्पोरेसन (आइओसीले) नेपालका लागि इन्धनको नयाँ मूल्य पठाएको छ । नेपाल आयल निगमले आइओसीले नयाँ मूल्य पठाएको जानकारी दिएको हो ।
भारतले पठाएको नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करिब पाँच अर्ब १९ करोड रूपैयाँ घाटा हुने देखिएको छ । आइओसीले पठाएको मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर २३ रुपैयाँ २ पैसा र डिजेलमा ४० रुपैयाँ १३ पैसा घाटा हुने देखिएको छ । हाल पेट्रोल लिटरको एक सय ६० र डिजेल एक सय ४३ रूपैयाँमा बिक्री भइरहेको छ । नयाँ मूल्यअनुसार निगमलाई पेट्रोल खरिद लागत १८३ रुपैयाँ २ पैसा र डिजेलको १८३ रुपैयाँ १३ पैसा पर्ने छ ।
त्यस्तै प्रतिसिलिन्डर एक हजार ६ सयमा बिक्री भइरहेको खाना पकाउने एलपी ग्यासमा निगमलाई एक हजार पचास रूपैयाँ १८ पैसा घाटा हुने निगमले जनाएको छ । ग्यासको खरिद लागत २ हजार ६५० रुपैयाँ १८ पैसा छ ।
निगमलाई मट्टीतेल र हवाई इन्धनमा भने नाफा छ । मट्टीतेलमा लिटरको २ रुपैयाँ ८१ पैसा र हवाई इन्धन आन्तरिकतर्फ १२ रुपैयाँ ६४ पैसा तथा बाह्यतर्फ ६४ रुपैयाँ ६९ पैसा नाफा रहेको निगमले जनाएको छ ।
प्रतिक्रिया