Breaking

काठमाडौं महानगरका उम्मेद्वारहरु आक्रामक प्रचारमा, एकले अर्कोलाई खुइल्याउन उद्दत


काठमाडौँ — स्थानीय निर्वाचनको मिति नजिकिएसँगै दलहरुको निर्वाचन केन्द्रीत गतिविधिले तीब्रता पाएको छ । देशकै राजधानी भएकोले पनि काठमाडौं महानगरलाई दलहरुले प्रतिष्ठाको विषय बनाएका छन् । साथै एकले अर्कोलाई आरोप लगाएर आफू विजयी हुने प्रयास पनि जारी छ । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहले बिहीवार आफ्नो संकल्पपत्र सार्वजनिक गर्दै काठमाडौं महानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउने बताइन् ।

महानगरपालिकाभित्रै भ्रष्टाचार भए आफुले अन्य ठाउँमा सुशासन कायम गर्न नसक्ने भन्दै उहाँले महानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउने प्रतिवद्धता जनाइन् । उनले महानगरको सेवा, सुविधालाई चुस्त, दुरुस्त बनाउने पनि बताइन् । तर सो कार्यक्रममा बोल्ने काँग्रेस नेताहरु भने नेकपा एमालेका मेयरका उम्मेद्वार केशव स्थापितविरुद्ध विश बमन गर्नमै समय खर्चिए । काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले एमाले नेता केशव स्थापितलाई मेयरमा जित्छु भन्ने सपना नदेख्न आग्रह गरे ।

उनले वागमतीको पानी धेरै बगिसकेको भन्दै अब फेरि त्यो पानी फर्किननसक्ने जिकिर गरे । प्रवक्ता महतले केशव स्थापितले चुनाव नजित्ने दाबी गरे । उनले नेताहरुले राजनीतिलाई मनोरञ्जनमय बनाएको आरोप लगाए । यता आजै काठमाडौं महानगरमा एमाले मेयरका उम्मेदवार केशव स्थापित भने ‘मि टु’ प्रकरणलाई लिएर जङ्गिएका छन् । नेसनल कलेजले आयोजना गरेको ‘स्थानीय चुनावः युवाको आशा र जिज्ञासा’ कार्यक्रममा विद्यार्थीहरुले स्थापितलाई लागेको ‘मी टु’ आरोपको बारेमा प्रश्न गरेका थिए ।

उनी त्यो प्रश्न पछि आफू बसेको कुर्सीबाट नै उठेर प्रश्न गर्ने विरुद्द नै जंगिए । दलहरुको निर्वाचन केन्द्रित गतिविधि एजेण्डा भन्दापनि आरोप प्रत्यारोपमा केन्द्रित हुन थालेपछि निर्वाचन आयोगले अनुगमनको कामलाई तीब्रता दिएको छ । पछिल्लो दिनमा घोषणापत्रलाई लिएर दलहरुबीच भएको घोचपेचलाई लिएर पनि आयोगले ध्यानाकर्षण भएको बताएको छ ।