काठमाडौँ — राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको ए—३३० वाइडबडी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण गरेको छ । दिउँसो ३ बजे उड्ने भनेको वाइडबडी दुई घण्टा डिलै भएर ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज ५ : ५५ बजे ल्याण्ड भएको हो । जहाज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सचिव, कर्मचारी तथा पत्रकारलगायत पूरा क्षमतामा यात्रु बोकेर उडेको हो । जहाजको सिट क्षमता दुई सय ७४ छ । जहाजले ‘अप्रेसनल पर्फमेन्स टेस्ट फ्लाइट’ परीक्षण उडान गरेको हो । नेपालको उड्डयन इतिहासमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ठूलो जहाजले उडान भरेको हो ।
नेपालमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको र विश्वभरका एयरलाइन्सले उडान गर्न सक्छन् भन्ने सन्देश प्रवाह गर्न पनि वाइडबडी जहाजबाट परीक्षण उडान गरेको हो । नेपालकै एक ठाउँबाट अर्को अहिलेसम्म ठूला जहाज उडान अवतरण गरिएको थिएन । काठमाडौंमा मात्र उडान अवतरण गरिरहेका थिए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत जेठ ८ गतेदेखि विधिवत रूपमा सञ्चालनमा आइसकेको छ । यद्यपि यो विमानस्थलमा आगामी जेठ २ गते बुद्धपूर्णिमाका दिनदेखि नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ ।


प्रतिक्रिया