Breaking

काठमाडौं महानगरको महाभिडन्त, विवादित स्थापित–महिलाले चाहेकी सिंह, बालेन कसलाई भारी ?


काठमाडौँ — आसन्न स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै चुनावी सरगर्मी थप बढेको छ । देशकै राजधानी हुनुको नाताले काठमाडौ महानगरमा सबैको दृष्टि पर्नु स्वभाविक छ । पाँच दलीय गठबन्धन र प्रमुख प्रतिपक्षबीच चर्को प्रतिष्पर्धा हुने अनुमानले पनि काठमाडौं महानगरको प्रतिष्पर्धा थप रोचक बनिरहेको छ । जनसंख्या, भूगोल, आर्थिक एवं प्रशासनिक दृष्टीले महत्वपूर्ण ६ वटा महानगरपालिका मध्ये काठमाडौ महानगरपालिका सबैको चासोमा छ । आसन्न स्थानीय तह निर्वाचनलाई लिएर पाँच दलिय गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीचको चुनावी प्रतिस्पर्धा थप रोचक हुने देखिन्छ ।

महानगरको आगामी नेतृत्वका लागि पाँच दलिय गठबन्धनले कांग्रेस नेतृ सृजना सिंहलाई र नेकपा एमालेबाट यस अघि पनि मेयर भएर काम गरिसकेका पूर्व प्रदेश मन्त्री समेत रहेका केशव स्थापितलाई चुनावी मैदानमा उतारेका छन । पारिवारिक राजनीतिक पृष्ठभूमि, नेतृत्व तहमा महिलाको प्रतिनिधित्व जस्ता सवालले कांग्रेस नेतृ सृजना सिंह उम्मेदवारी चर्चामा छ । परिवारको प्रतिष्ठा र गरिमा मात्र नभई काठमाडौमा महिलाहरुको आमुल परिवर्तनका लागि आफ्नो आश्यकता रहेको दावी सृजना सिंहको छ ।

महिलाको मुद्धालाई पहिलो प्राथमिकता दिएकी सिंहलाई महिलाहरुको राम्रै समर्थन रहेको देखिन्छ । मंगलबार कांग्रेसको भातृ संगठन नेपाल महिला संघले जसरी पनि महिलो उम्मेदवार जिताउनु पर्ने अभियान नै सुरु गरेको छ । केन्द्रिय राजधानी काठमाडौ महानगर अन्य क्षेत्रका लागि समेत उदाहरण बन्ने भएकाले कांग्रेस वा गठबन्धन भन्दा पनि महिला नै मेयर बन्नुपर्ने बनाउनुपर्ने धारण महिला नेतृहरुको छ । हरिप्रभा खड्गी, उपमेयर, काठमाडौं महानगर सिंहको मुख्य प्रतिस्पर्धीका रुपमा पहिले नै महानगरको मेयर भएर काम गरिसकेका तथा वाग्मति प्रदेशको भौतिक पूर्वधार मन्त्री समेत भएर काम गरिसकेका एमाले नेता केशव स्थापित छन ।

सिंह र स्थापितबीच कडा टक्कर निश्चित छ । केशव स्थापित एमालेभित्र पनि विवादित नेता भएको हुँदा सृजना सिंहले जित्ने सम्भावना प्रवल रहेको कतिपयको बुझाइ छ । यद्यपि अंकगणितका आधारमा गठबन्धनको भन्दा डबल भोट सहित महानगरको मेयर बन्ने दावी स्थापितको छ । महानगरपालिकाको प्रमुखका लागि जनाको ५६ उम्मेदवारी परेको छ । प्रमुख पदका लागि उम्मेदवारी दिने ५६ मध्ये २१ ले दलका तर्फबाट उम्मेदवारी दिएका छन । ३५ जना स्वतन्त्र उम्मेदवार छन । महानगरमा गठबन्धन र एमालेबीचको प्रतिस्पर्धामा बालेन शाह लगायतका स्वतन्त्र उम्मेदवारहरुको क्रेजका कारण पनि नजिता कता जान्छ भन्ने यसै अनुमान गर्न नसक्ने अवस्था छ ।