Breaking

अन्ततः एमाले जिताउन होमिए विरुदास र कल्पना, मेयरको स्वतन्त्र उमेदवारी फिर्ता गर्ने


काठमाडौँ – नेकपा एमाले सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको उपमेयरको टिकटको सन्दर्भमा देखिएको मतभेद अन्त्य भएको छ ।

यससंगै नेकपा एमाले सिंगो शक्ति स्थानीय तह निर्वाचनमा एकढिक्का हुने देखिएको छ । उपमेयरको दावी गरिरहेकी निवर्तमान उपमेयर तथा नेकपा एमालेकी नेतृ कल्पना राई र उनका श्रीमान् समेत रहेका नेकपा एमाले सोलुखुम्बुका नेता बिरुदास श्रेष्ठले असन्तुष्टी जनाउँदै पार्टी नै छाड्ने चेतावनी दिएका थिए । बिरुदास श्रेष्ठले सोलुदुधकुण्ड नगरपालिकाको मेयरका लागि स्वतन्त्र उमेदवारी समेत दिएका थिए ।

सोमबार उमेदवारी दिएका श्रेष्ठले सामाजिक सञ्जाल मार्फत मेयरको उमेदवारी फिर्ता गर्ने संकेत गरेका छन् । पार्टीभित्रको अन्तरविरोधलाई थाँती राख्दै हालको निर्वाचन अभियानलाई जितमा रुपान्तरण गर्ने उद्देश्यले आफू पुन एमालेमा सक्रिय हुने निर्णय गरेको श्रेष्ठले प्रष्ट पारेका छन् ।

उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै भनेका छन्, ‘पार्टी भित्र रहेको मतभेद र अन्तरविरोध थाँती राख्दै हाललाई नेकपा एमाले सोलुदुधकुण्ड नगरपालिकाले अघि सारेको प्रमुख, उपप्रमुख र ११ वटै वडा अध्यक्षको उम्मेदवार तथा वडा सदस्यका उम्मेदवारहरुलाई जिताउने अभियानमा सामेल हुने प्रतिवद्धता व्यक्त गर्दछु !अन्तरविरोधका विषयहरु चुनाव पछि पनि उठ्ने नै छ ।’

श्रेष्ठ र राईले भनेका छन्, ‘हाम्रा असन्तुष्टिलाई थाँती राखेका छौँ, व्यक्ति भन्दा संगठन ठूलो कुरा हो, पहिले पार्टीलाई जिताउछौँ, त्यसपछि अरु विषयमा कुरा गरौँला ।’ उक्त स्टाटस लगत्तै उनले नगरपालिकाको प्रमुख तथा उपप्रमुख पदसहितका उमेदवारहरुलाई जीतको शुभकामना व्यक्त गरेका छन् । निवर्तमान उपप्रमुख कल्पना राईले पनि सबैको सल्लाह बमोजिम नेकपा एमालेमै रहने निधो गरेको बताएकी छिन् ।