Breaking

गठबन्धनमा चिरीबाबुलाई राहत


काठमाडौँ — नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको उम्मेदवार बनाएपछि चिरीबाबु महर्जन र नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार फेरि आमनेसामने भएका छन् । पाँच वर्ष पहिले भएको स्थानीय चुनावमा पनि उनीहरू ललितपुरको मेयरमा प्रतिस्पर्धा गरेका थिए । त्यसबेला चिरिबाबुले मेयर जितेका थिए । यसपालि चिरीबाबु पाँच दलीय सत्ता गठबन्धनबाट ललितपुर मेयरमा साझा उम्मेदवार छन् । एमालेका व्यञ्जनकारलाई पनि राप्रपा नेपाल, परिवार दलको साथ छ । एमालेले यी दुई दलसँग चुनावी तालमेल गर्ने भनेको छ ।

सत्ता गठबन्धनबाट उपमेयरमा नेकपा माओवादी केन्द्रका बाबुराजा बज्राचार्य उम्मेदवार छन् भने एमालेबाट ललितपुरमा मञ्जली शाक्यले उम्मेदवारी दर्ता गरेकी छन् । चिरिबाबुले ०७४ को चुनावमा झिनो मतान्तरले ललितपुरको मेयर जितेका थिए । महर्जनले २४ हजार छ सय ४२ मत ल्याउँदा हरिकृष्णले २४ हजार तीन सय १६ मत ल्याएका थिए । त्यसबेला मेयरमा नेकपा माओवादी केन्द्रका दिनेश महर्जनले १० हजार छ सय ६१ मत ल्याएका थिए । माओवादीले ०७४ मा ल्याएको मतसमेत जोड्ने हो भने यसपालि चिरीबाबुलाई चुनाव जित्न सजिलो हुने देखिएको छ ।