Breaking

८० प्रतिशत मतपत्र छपाइको काम सम्पन्न, भोलिबाट मतपत्र ढुवानीको काम सुरु हुने


काठमाडौँ – निर्वाचन आयोगले बैशाख १३ गतेबाट स्थानीय तह निर्वाचन २०७९ को मतपत्र ढुवानीको काम सुरु गर्ने भएको छ । निर्वाचन आयोग, नेपालले सोमबार आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी गराइएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ८० प्रतिशत मतपत्र छपाईको काम सकिएको र बाँकि मत पत्रको पनि छपाई कार्य जारी रहेको बताउनु भयो । उहाँका अनुसार हालसम्म ६८ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मत पत्र छपाई सकिएको छ ।

निर्वाचन आयोगले एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरेको छ । आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सम्बन्धित सबै पक्षलाई पनि सचेत गराएको छ ।

निर्वाचन आयोगले हालसम्म निर्वाचनको पर्यवेक्षणका लागि ६८ वटा संस्थाहरुले अनुमति लिएको पनि जनाएको छ ।