Breaking

शुरु भयो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कुवेत–भैरहवा उडान हुने


काठमाडौँ — आगामी जेठ २ गते अर्थात् बुद्ध जयन्तीका दिन जजिरा एयरलाइन्सको जहाजले कुवेत–भैरहवा सीधा जोड्ने भएको छ । उक्त उडानका लागि आवश्यक गृहकार्य भइरहेको छ। बिहीबारदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरलाइन्स पहिलो व्यावसायिक उडान भर्ने विदेशी एयरलाइन्स हुने भएको छ ।​ आगामी जेठ २ गते बुद्ध जयन्तीका दिन उक्त एयरलाइन्सले कुवेतबाट सीधै गौतमबुद्ध विमानस्थलसम्म उडान भर्ने अनुमति पाएको छ । यसैगरी उक्त एयरलाइन्सले सोमबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन दिन उडान गर्ने अनुमति लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीले जानकारी दिए ।

गौतमबुद्ध विमानस्थलबाट जेठ २ गते औपचारिकरुपमा अन्तर्राष्ट्रिय उडान थाल्ने कार्यक्रम तय गरेको छ। सोही दिनदेखि व्यावसायिक उडान गर्न प्राधिकरणमा हालसम्म जजिरा एयरले मात्र अनुमति लिएको बताइएको छ । यसैगरी अन्य वायुसेवा कम्पनीले पनि उडानका लागि चासो देखाइरहेको महानिर्देशक अधिकारीले बताए। उनले भने, भैरहवाबाट जजिराले पहिलो अन्तर्राष्ट्रिय उडानका लागि अनुमति पाएको छ, अन्य एयरलाइन्सले पनि उडानका लागि चासो देखाइरहेका छन् । भैरहवाबाट कुवेत जानका लागि नेपालबाट ३० जनाले टिकट बुकिङ गरिसकेका छन् । प्राधिकरणले सो विमानस्थलबाट उडान गर्ने एयरलाइन्सलाई विशेष छुट दिने घोषणासमेत गरेको छ ।