Breaking

आफ्नै रेर्कड तोड्दै कामीरिता शेर्पा


काठमाडौँ — सोलुखुम्बुको खुम्बु पासाङल्हामु–५ थामेका कामीरिता शेर्पा सर्वोच्च शिखर सगरमाथामा २६ औं पटक आरोहणको लागि जाने भएका छन् ।

५२ वर्षीय शेर्पाले २५ औं पटकको आफ्नै विश्व कीर्तिमान तोड्न यसपटकको वसन्तयाममा पनि सगरमाथा आरोहण गर्ने भएका छन्  । २६ औं पटक सगरमाथाको चुचुरोमा पुग्न उनी आइतबार काठमाडौँबाट जहाजमा लुक्ला प्रस्थान गर्दै छन् ।

विगत ३० वर्षदेखि हिमाल आरोहणमा आबद्ध कामीरिता यसपटक पनि विगतझैं आरोहीका लागि बाटो बनाउने जिम्मेवारीमा छन् । दोस्रो शिविरमाथिदेखि चुचुरोसम्म उनले करिब १३ हजार मिटर डोरी कतै दोहोरो त कतै एकसरो टाँगेर बाटो बनाइदिनुपर्नेछ ।

समुद्री सतहदेखि ५३ सय मिटर उचाइमा रहेको सगरमाथाको आधारशिविरदेखि ६४ सय मिटर उचाइमा रहेको दोस्रो शिविरसम्म डोरी टाग्ने र हिमखाडलमा भर्‍याङ राख्ने काम ‘सगरमाथा प्रदूषण नियन्त्रण समिति’ ले गर्छ ।

त्यसभन्दा माथि उकालोमा डोरीमात्रै टाँग्ने जिम्मा हरेक सिजनमा आरोहण गराउने कम्पनीको साझा संस्था एक्सपिडिसन अपरेटर्स एसोसिएसनले लिन्छ । एसोसिएसनका तर्फबाट दोस्रो शिविरदेखि सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने कामको नेतृत्व सम्हाल्दै आएका छन् ।

कामीरितापछि विश्वमै सर्वाधिक सगरमाथा आरोहण गर्ने दोस्रो स्थानमा उनकै जिल्लावासी पादावा शेर्पा छन् । पासाङदावा पनि भनिने उनी २३ पटक सगरमाथाको चुचुरोमा पुगेका छन् ।