Breaking

हिमाल चढ्ने आरोही बढ्ने संकेत, १२८ जनाले लिए अनुमति


काठमाडौँ — वसन्त ऋतु सुरु भएसँगै पर्यटकहरुले हिमाल आरोहणका लागि अनुमति लिन थालेका छन् । सोमवारसम्म १६ वटा हिमाल आरोहणका लागि एक सय २८ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।

अनुमति लिनेमध्ये ९६ जना पुरुष र ३२ जना महिला छन् । उनीहरुबाट दुई करोड ६५ लाख ३१ हजार रुपैयाँ रोयल्टी संकलन गरिएको विभागले जनाएको छ । सबैभन्दा धेरै अन्नपूर्ण हिमाल आरोहणका लागि २५ जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि सोमबारसम्म ६ जना पुरुष र तीन जना महिला गरी नौ जनाले अनुमति लिएका विभागले जनाएको छ ।

कोरोना महामारीका कारण दुई वर्षदेखि नेपालको हिमाल आरोहण प्रभावित बनेको थियो । यस वर्ष कोरोनाको जोखिम कम भएकोले पर्वतारोहण तथा पर्वतीय पदयात्रामा आउने पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ ।