काठमाडौँ — लेटाङमा महिला प्रहरीको हत्या गरेको अभियोगमा एक जना महिलासहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेटाङ–५ का ४८ वर्षीय चन्द्रकान्ता लामा, २५ वर्षीय रविन राई, २० वर्षीय रविन तामाङ, २३ वर्षीय प्रदीप राई, १८ वर्षीय निशा पुलामी मगर, १८ वर्षीय सुरज अधिकारी र १९ वर्षीय संजय मगर रहेका छन् । यस्तै लेटाङ–६ का १८ वर्षीय पालाराम राई, १८ वर्षीय राम राई, १८ वर्षीय सन्तोष पौडेल, २० वर्षीय हिमाल श्रेष्ठ पनि प्रहरीले सोही घटनामा संलग्न रहेको आशङ्कामा पक्राउ गरेको छ । प्रहरीले मिक्लाजुङ–२ घर भइ लेटाङ ५ बस्ने २० वर्षीय कृष्ण विक, लेटाङ ५ कै संजीव प्रधान, प्रनिस कट्टेल, जस्मिन पाख्रीन, सुनिल लिम्बू, प्रह्लाद खड्का, अर्पण परियार, पासाङ तामाङ र लेटाङ ६ का श्रवण यादवलाई पनि पक्राउ गरेको छ ।
प्रहरीले मोरङ अदालतमा पहिलो चरणमा पक्राउ परेका ९ जना र पछिल्लो चरणमा पक्राउ परेका ११ जनालाई नै ‘कर्तव्य ज्यान मुद्दामा’ म्याद थप गरि अनुसन्धान सुरू गरेको छ । चैत ६ गते मोरङको लेटाङमा हिंसात्मक झडप हुँदा प्रहरी जवान २६ वर्षीय उर्मिला श्रेष्ठको हत्या भएको थियो । घटनाको अनुसन्धान गर्दै हत्यामा संलग्न २० जनालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । लेटाङ घटनाको अनुसन्धानको लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी), १ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी मोरङको संयुक्त टोली परिचालन भएको छ ।
‘हिंसात्मक झडपको घटनाको अनुसन्धानको लागि संयुक्त रूपमा अनुसन्धान सुरू भएको छ,’ उनले भने, ‘अनुसन्धान गर्दै पक्राउ गरिने र सोधपुछ हुने क्रममा जारी नै रहेको छ ।’ घटना घटाएपछि आरोपी फरार भएका छन् । उनीहरू जंगलमा रहेको हुनसक्ने भएकोले प्रहरीले लेटाङ, केराबारी र मिक्लाजुङसँगै उत्तरी क्षेत्र सर्च अभियान पनि सुरू गरेको छ । घटनाको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा प्रदेश प्रहरी कार्यालयले पाँच सदस्यीय छानविन समिति गठन गरेर छानविन पनि सुरु गरेको छ ।
प्रतिक्रिया