Breaking

पर्यटन प्रवर्द्धनका लागि कला, संस्कृतिको संरक्षण गर्न आवश्यक छ : मन्त्री आले


काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कला, संस्कृति भनेको देश चिनाउने गहना भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताएका छन् ।

फागु पूर्णिमा ९होली० पर्वका अवसरमा बिहीबार ज्यापु समाज यल ललितपुरले आयोजना गरेको संस्कृतिक कार्यक्रममा मन्त्री आलेले कुनै पनि हालतमा संस्कृति मासिन दिन नहुने बताए । नेपाल कला र संस्कृतिको धनी भएकाले यहाँ पर्यटक भित्र्याउन तथा पर्यटन प्रवर्द्धनका लागि आफ्नो मौलिक कला, संस्कृति जोगाएर राख्नुपर्ने धारणा उनले राखे ।

कला, संस्कृतिबिना मान्छेको जीवन अधुरो हुने भएको उल्लेख गर्दै मन्त्री आलेले यसको जगेर्ना र संरक्षणका लागि युवापुस्ता अघि बढ्नुपर्ने बताए । पछिल्लो समय विभिन्न मठमन्दिर, धर्मशालालगायत क्षेत्र व्यक्तिगत स्वार्थका लागि अधिग्रहण गर्ने क्रम बढेको भन्दै उनले त्यस्ता व्यक्ति र समूहलाई कारबाहीको दायरामा ल्याइने चेतावनी दिए ।

पुरातात्विक महत्वका सम्पदाको संरक्षणका लागि आफू सधैँ कटिबद्ध रहेको मन्त्री आलेले बताए । नेपालबाट केही समय पहिले चोरी भएका मूर्ति अमेरिका, बेलायत, फ्रान्स, इटालीलगायत देशबाट ल्याइएको उनले जानकारी दिए ।

उनले भने, ‘कोरोना महामारीका समयमा विदेशमा रहेका नेपालीलाई ल्याउन गरिएको चार्टर्ड उडानमा आर्थिक अनियमितता भएको छ, प्रमाण जुटाउँदै छौँ, चाँडै कानुनबमोजिम कारबाही गर्छौँँ ।’