देश

बिजुलीको प्रयोग गरी सिँचाइ गरौँ : ऊर्जा मन्त्री


काठमाडौँ — सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा निर्माण भएको १३२र३३ केभी सबस्टेशनको उद्घाटन भएको छ । सर्लाहीको बिजुली आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आउँदा दिनमा खुल्ने नयाँ उद्योगहरूलाई बिजुली उपलब्ध गराउन निर्माण गरिएको सबस्टेशनको आज मङ्गलवार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा उहाँले आम नेपाली जनताले उज्यालोका लागि मात्र नभएर खाना पकाउन, सिँचाइ गर्न, उद्योग कलकारखाना चलाउनका लागि प्रयोग गरी बिजुली खपत बढाउन आग्रह गर्नुभयो ।

तराई तथा मधेस क्षेत्रमा सिँचाइमा बिजुली खपतको प्रचुर सम्भावना देखेर नै सरकारले सिँचाइको विद्युत् महसुल घटाएको उल्लेख गर्दै मन्त्री भुसालले सिँचाइका लागि पेट्रोलियम पदार्थबाट चल्ने उपकरणहरू विस्थापित गर्न आग्रह गर्नुभयो । ‘अहिले हामी वार्षिक दुई खर्ब रुपैयाँभन्दा बढीको खाद्यान्न आयात गरिरहेका छौँ, बिजुलीको प्रयोग गरी सिँचाइ गरेर उत्पादन वृद्धि गरौँ, खेत बाँझो नराखौँ’, उहाँले भन्नुभयो, ‘ऊर्जाको प्रयोग गरी उद्योग खोलौँ, कृषि गरौँ र देशभित्रै रोजगारीको सिर्जना गर्दै अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनतर्फ लागौँ ।’ उहाँले सबस्टेशन सञ्चालनमा आएसँगै यस क्षेत्रमा गुणस्तरीय र भरपर्दो बिजुली आपूर्ति भइ औद्योगिकरणमा सहयोग पुग्ने भएकाले त्यसतर्फ लाग्न आग्रह गर्नुभयो ।