Breaking

अमेरिकाको एक इमेलले आफू नेतृत्व सरकार ढालेको ओलीको खुलासा


काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा गोरु ब्याएको टिप्पणी गरेका छन् । बिहीबार पोखरामा प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले अहिले सर्वोच्च अदालतमा गोरु ब्याएको मात्रै नभइ ५ वटा बाच्छा समेत जन्माएको टिप्पणी गरे ।

ओलीले संविधान बाहिर गएर प्रगतिशील सरकारलाई सर्वोच्चले ढाल्ने काम गरेको आरोप लगाए । उनले भने ‘संविधान बाहिर गइगइकनै हामीले यत्रो ठूलो उपलब्धि हासिल गरेका छौँ कि एउटा जननिर्वाचित सरकारलाई ढालेका छौँ । नभएको अधिकार प्रयोग भएको छ अदालतबाट । तर नेपालमा एकपल्ट एक जनाले भनेका थिए–गोरु ब्याउँदैन भन्थे नेपालको सर्वोच्च अदालतमा ब्यायो । उनले उहिल्यै ०५२ सालमा भनेका थिए । अहिले गोरु ब्याएन मात्रै होइन ५ वटा बाच्छा पायो ।’

अध्यक्ष ओलीले आफू नेतृत्वको सरकार अमेरिकी षडयन्त्रकै कारण विधानभन्दा बाहिर गएर ढालेको आरोप लगाएका छन् । ‘जनादेशको माखौल उडाइएको छ । जनतामा रहेको सार्वभौमसत्ताको मजाक उडाएको छ । सेटिङमा सब काम भइरहेको छ।’ उनले भने, ‘यी कुरा लोकतन्त्रको पक्षमा होइन । एक जना न्यायाधीशको अभिव्यक्तिमा होइन । एउटा इमेल आउँछ, अमेरिकाबाटै इमेल आउँछ, केपी ओलीको सरकार ढाल्नु नै थियो । न्यायाधीशको के बिगारिदिएको थियो त्यो सरकारले ? होइन त्यहाँनेर वर्गी पूर्वाग्रह दुराग्रह र विकास विरोधी षड्यन्त्र भएको थियो भन्ने कुरा त्यस इमेलले बताउँछ ।’