Breaking

प्रेस चौतारीको ९औँ महाधिवेशन आजदेखि : अध्यक्ष ओलीले उद्घाटन गर्ने


काठमाडौँ — नेकपा एमाले निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको नवौँ केन्द्रीय महाधिवेशन आजदेखि पोखरामा सुरु हुँदै छ ।

देशभरका झन्डै १२ सय पत्रकारहरूको उपस्थितिमा हुने महाधिवेशनको सबै तयारी पूरा भएको छ भने उद्घाटन एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै छन् ।

‘समृद्धिका लागि सञ्चार कर्म : प्रेस चौतारीको मूल मर्म’ भन्ने नाराका साथ हुन लागेको महाधिवेशनको तयारी पुरा भएको मूल व्यवस्थापन समितिका संयोजक गणेश पाण्डेले बताए। नयाँ नेतृत्व निर्माण समेत चयन हुने महाधिवेशन शुक्रवार र शनिबार पोखरा सभागृहमा हुनेछ ।

महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरू बिहीबारदेखि नै पत्रकारहरू पोखरा भित्रिइरहेका छन् । महाधिवेशनमा भौगोलिक सात प्रदेश र एशोसिएट, प्रतिष्ठान र बागमती गरी सङ्गठनका १० वटै क्षेत्रबाट छानिएका १२ सय प्रतिनिधिले महाधिवेशनमा भाग लिन लागेका हुन् ।

महाधिवेशनमा भाग लिन केन्द्रीय समितिका सबै सदस्यहरू पोखरा आइपुगेका छन् । अहिलेको केन्द्रीय समितिको अन्तिम बैठक समेत पनि शुक्रवार नै पोखरामा बस्दैछ ।

प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीका अनुसार यो महाधिवेशनलाई पोखराका गौरवको रूपमा लिइएको छ । महाधिवेशनलाई गौरवमय र सफल बनाउन आवास, खाद्य व्यवस्थापन, स्वयंसेवक, मञ्च व्यवस्थापन, अतिथि सत्कार लगायतका उपसमितिहरूले आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेको अध्यक्ष गिरीले बताए ।

चौतारीको यो महाधिवेशन नीति र नेतृत्व निर्माणका हिसाबले महत्त्वपूर्ण हुने छ। नीति र नेतृत्व निर्माणको साथमा महाधिवेशनमा सञ्चार क्षेत्रका वर्तमान मुद्दाका बारेमा समेत महत्त्वपूर्ण छलफल गर्ने प्रेस चौतारीको तयारी छ । महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न क्षेत्रमा योगदान पुराएका ११ जना पत्रकारलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम छ ।

जसअनुसार हृदय चन्द्र सिंह प्रधान पत्रकारिता पुरस्कार–२०७७ बाट प्रेस चौतारीका पूर्व अध्यक्ष राजेन्द्र अर्याल तथा २०७८ बाट अर्का पूर्व अध्यक्ष गगन विष्टलाई प्रदान गरिने भएको छ ।

यस्तै अग्निशिखा पत्रकारिता पुरस्कार–२०७७ कृष्ण विनोद लम्साल तथा २०७८ बाट झलक सुवेदी पुरस्कृत हुँदै छन्। डेकेन्द्र थापा पत्रकारिता पुरस्कार–२०७७ सागर पण्डित र २०७८ हिरा परियारलाई प्रदान गरिनेछ ।

वीरेन्द्र शाह क्रियाशील पत्रकारिता पुरस्कार–२०७७ बाट केपी गौतम र २०७८ बाट अनुप तिवारी पुरस्कृत हुँदै छन् । चन्द्र न्यौपाने शान्तिराम कार्की पत्रकारिता पुरस्कारबाट शान्ति गुरुङ तथा पदम लक्ष्मी सावित्री स्मृति पत्रकारिता पुरस्कार–२०७७ अब्दुल्ला मिया र २०७८ शिवराज भट्टलाई प्रदान गर्न लागिएको प्रेस चौतारीले बताएको छ ।