देश

काठमाडौं महानगरपालिकाको मेयरमा शाक्यलाई नै निरन्तरता दिने


काठमाडौँ — आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका काठमाडौंमा एमालेले अहिलेका मेयर विद्यासुन्दर शाक्यलाई नै निरन्तरता दिने तयारी गरेको छ । शाक्यले पनि पछिल्लो समय पार्टीले निरन्तरता दिन चाहेको खण्डमा आफू पूनः मेयरमा उठ्न सक्ने बताईसकेका छन् । महानगरवासीको हित हुनेगरि काम गरेको भन्दै मेयर शाक्यको एमालेमा नेताहरुले प्रशंसा गर्ने गरेका छन् । उनले विशेषगरि नेवारी समूदायको हितको लागि पनि विशेष काम गरेका बताईन्छ ।

उता, स्थानीय तहको निर्वाचनमा खासगरी महानगरपालिकामा सत्ता गठबन्धनले भागबण्डा गरिसकेका छन् । गठबन्धनका शीर्ष नेताहरुबीच भएको छलफलमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा कांग्रेसको नेतृत्वमा चुनाव लड्ने करिब करिब सहमति भैसकेको छ । त्यस्तै, भरतपुर महानगरपालिका भने माओवादी केन्द्रले लिने भएको छ । उता, पोखरा महानगरपालिका नेकपा एकीकृत समाजवादी र वीरगञ्जमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले लिने भएको छ ।

कांग्रेसले काठमाडौंमा अहिलेकी उपमेयर हरिप्रभा खड्गीलाई मेयर बनाउनेगरि तयारी गरेको छ । उता, ललितपुरमा भने अहिलेका मेयर चिरिबाबु महर्जन नै उठ्ने चर्चा छ । विराटनगरमा पनि अहिलेका मेयर भीम प्रसाद पराजुली उठ्ने जनाईएको छ । माओवादी केन्द्रले भरतपुरमा पनि रेनु दाहाललाई नै निरन्तरता दिन चाहेको छ । रेनुले राम्रो काम गरेको भन्दै उनलाई निरन्तरता दिनेबारे नेतृत्व तहमा करिब करिब सहमति भैसकेको छ । वीरगन्जमा पनि जसपाले अहिलेका मेयर विजयकुमार सरावगीलाई नै उठाउने चर्चामा छ ।