Breaking

मतपत्र हेरेर होइन मत परिणाम हेरेर तर्सिनुपर्ने दिन आउछ: महामन्त्री शर्मा


काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सैद्धान्तिक र वैचारिक बहसमा सहभागी हुन सुझाव दिएका छन् । उनले ओलीलाई मतपत्रको रङ्गलाई लिएर नतर्सिन सुझाव दिएका हुन् ।

महामन्त्री शर्माले निर्वाचन आयोग मतपत्रमा कस्तो रङ राख्ने भन्ने कुरामा स्वतन्त्र रहेको उल्लेख गर्दै रङको विषयलाई लिनुभन्दा पनि बोल्ने ढंग सच्याउनमा ध्यान दिन व्यङ्ग्य गरे । उनले पूर्व प्रधानमन्त्री जस्तो व्यक्तिले खुद्रा वहस गर्न नमिल्ने तर्क गरेका हुन् ।

महामन्त्री शर्माले तथ्य र तर्कमा आधारित विषयमा मात्र राजनीतिक दलहरुले निर्वाचन आयोगले गरेको निर्णयमाथि प्रश्न उठाउन सक्ने भएकाले तार्किक कुरामा मात्रै प्रश्न गरी पदीय जिम्मेवारीको मर्यादा राख्न अध्यक्ष ओलीलाई सुझाव दिनु भएको हो ।

मतपत्रमा हरियो रङ्ग देख्नेबित्तिकै यसरी तर्सिने हो भने मतपरिणाम देखेपछि के होला ? त्यस कारण मतपत्र हेरेर नतर्सिऔँ । मत परिणाम हेरेर तर्सिनुपर्ने दिन आउला । त्यो बेला पनि नतर्सिऔँ भनेर म आग्रह गर्न चाहन्छु ।’ शर्माले भने ।

अध्यक्ष ओलीले नेपाली काँग्रेसले आफ्नो मतचिन्ह हरियो रङको रहेको उल्लेख गर्दै सबैले हरियो रङ देखुन् भन्ने सोचाइबाट मतपत्रमा हरियो रङ राख्ने निर्णय गरेको आरोप लगाउनु भएको थियो ।