विदेश

दक्षिण कोरियाको राष्ट्रपतिमा युन सुक यओल


काठमाडौँ — दक्षिण कोरियाको राष्ट्रपतिमा युन सुक यओल निर्वाचित भएका छन् । बुधबार भएको राष्ट्रपती चुनावको अन्तिम मतपरिणामअनुसार सत्तारूढ दल डेमोक्रेटिक पार्टीका उम्मेदवार ली जाइ म्योङ्गलाई झिनो मतान्तरले हराएर पिपल पावर पार्टीका युन सुक यओल निर्वाचित भएका हुन् । यओलले ४८.५६ प्रतिशत मत ल्याए भने म्योङ्गले ४७.८३ प्रतिशत मत ल्याए । ६१ वर्षीय यओलको पार्टीले कन्जरभेटिभ विचारधारामा विश्वास गर्छ ।

कानुनी पृष्ठभूमिका यओल दक्षिण कोरियाका पूर्वमहान्यायाधीवक्ता हुन् । उनले राष्ट्रिय एकतालाई आफूले प्रमुख प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । वर्तमान राष्ट्रपति मुन जाइ इनको कार्यकाल आगामी मेमा सकिएपछि यओलले कार्यभार सम्हाल्नेछन् । मुनले आफ्नो कार्यकालमा उत्तर कोरियासँग संवादलाई बढाएका थिए । पछिल्लो समय क्षेप्यास्त्र परीक्षणलाई तीव्रता दिइरहेको उत्तरसँग आफूले राष्ट्रपति मुनको भन्दा फरक नीति ल्याउने बताएका छन् ।