Breaking

कम्युनिष्टहरु एक हुने डरले देउवा नरम, चुनावमा गठबन्धनको सम्भावना कम


काठमाडौँ – स्थानीय तहको निर्वाचनका लागि सरकारले तोकेको मिति नजिकिदै जाँदा प्रमुख राजनीतिक दल निर्वाचनको तयारीमा जुटेका छन । तर सत्ता गठबन्धनभित्रको प्रमुख दल नेपाली कांग्रेस भने एक्लै चुनावमा जाने कि गठबन्धलाई लिएर अघि बढ्ने भन्नेमा अलमलमा देखिएको छ ।

स्थानीय तहको निर्वाचन अघि भए गठबन्धन फुट्ने पूर्व विश्लेषकाबीच सत्ता घटकभित्र कसरी अघि बढ्ने भन्ने सकस देखिएको छ । विशेषत: गठबन्धन सहित अघि बढ्न नेकपा एकीकृत समाजवादीको बाध्यता बनिरहँदा प्रमुख दल कांग्रेसभित्रै दुई मत देखिएको छ ।

कांग्रेसले निर्वाचन लक्षित गरी अघि बढीसकेको छ । यहि कदम स्वरुप फागुन २९ गतेदेखि कांग्रेसले ‘घरघर जाऊ, कांग्रेस जिताऊ’ भन्ने एकमहिने अभियान सञ्चालन गर्न लागेको छ । यो अभियानलाई कांग्रेसले संगठन सुदृढीकरण अभियानका रूपमा समेत लिएको छ ।

तर आगामी निर्वाचनमा एक्लै जाने कि गठबन्धन सहित जाने भन्ने विषयमा भने कांग्रेसले संस्थागत निर्णय गर्न सकेको छैन । उपासभापती धनराज गुरुङ, नेता रामहरी खतिवडाले प्रष्ट रुपमा कसैलाई बोकेर हिड्न नसकिने बताईसकेका छन भने केहि नेतालाई भने गठबन्धन आवश्यक देखिएको छ ।

विगतमा आफ्नो क्षेत्रमा चुनाव हारेका कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला लगायतका नेताहरु भने गठबन्धन नबने यसअघि कै प्रतिस्पर्धीसंग हारिने डरमा छन ।

फलत: उनीहरुको लविङ निर्वाचनसम्मै गठबन्धन कायम राख्नेमा देखिएको छ । उनीहरु अहिल्यै गठबन्धनसहित जाने कि एक्लै भन्ने बारे अहिल्यै वोल्न हतारो हुने बताईरहेका छन् ।

गठबन्धन फुट्ने डर एकीकृत समाजवादीमा पनि देखिएको छ । गठबन्धनमा रहेका दलहरुको बीचमा विश्वास भएपनि तोड्नका लागि भयंकर षडयन्त्रहरु भइरहेको उसको बुझाई छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीले एमसीसी अनुमोदन गर्ने बेलामै गठबन्धन फुटाउन खोजेको तर ब्याख्यात्मक घोषणामार्फत एमसीसी अनुमोदन गरेर गठबन्धन बचाउन सफल भएको अध्यक्ष माधवकुमार नेपालको भनाई छ ।

यता विश्लेषकहरु पनि संघिय निर्वाचनमा केहि शिर्ष नेतालाई जिताउने खालको गठबन्धन हुने सम्भावना भएपनि स्थानीय तहमै भने त्यो सम्भावना न्यून भएको बताउछन ।

प्रभाव र पदमा रहेका अधिंकाश नेताहरु निर्वाचनमा गठबन्धनको विरुद्धमै रहेको बताँउदै उनीहरु वामपन्थी एक हुने डरले मात्र कांग्रेसले आधिकारिक निर्णय नगरेको दाबी गर्छन ।

स्थानीय तहको निर्वाचनको विषय कस्ले जित्ने भन्दा पनि कसले टिकट पायो भन्नेसंग बढि केन्द्रित हुने हुनाले यसको प्रत्यक्ष असर संघिय निर्वाचनमा देखिने विश्लेषकहरुको भनाई छ । यहि कारण गठबन्धनमा गएर आफ्नो भविष्य कमजोर पार्ने दुस्साहस कांग्रेसले नगर्ने उनीहरुको तर्क छ ।

हुन त स्थानीय तहमा केन्द्रले गरेको गठबन्धन प्रभावकारी हुन्छ भन्नेमै धेरैको आशंका रहेको छ । अर्कातर्फ एमसीसीमा एक मत रहेकै कांग्रेसको अर्को तप्का समेत गठबन्धनका विषयमा विभाजित रहेको छ ।

जसको व्यवस्थापनकै लागि सभापती शेरबहादुर देउवाले गठबन्धनप्रति आफू नरम र अन्य नेतालाई गरम बनाउने रणनिति अपनाएको विश्लेषण समेत सुरु भएको छ । साथमा कांग्रेसले स्थानीय तहका विषयमा क्षेत्रले नै निर्णय लिनसक्ने मध्यमार्गी बाटो समेत अघि सारेको छ ।