विदेश

“हामी ठिक हुनेछौँ र सबै कुरा युक्रेन हुनेछ ।” यो पोष्ट नै लीका लागि अन्तिम बन्यो


काठमाडौँ – रुसी आक्रमणमा परी युक्रेनका चर्चित अभिनेता तथा टेलिभिजन प्रस्तोता पाशा लीको मृत्यु भएको छ । राजधानी किभ बाहिर इरपिन सहरमा रुसी सेनाले गरेको बमबारीमा ली मारिएका हुन् । उनी इरपिनमै बस्दै आएका थिए ।

लीको थुप्रै चलचित्र अनि युक्रेनी भाषाको ‘द लायन किङ’ र ‘द होबिट’मा आवाज सुन्न सकिन्छ ।

उनी रुसी आक्रमणमा मारिएका पब्लिक फिगरहरूमध्ये एक हुन । उनका साथै एक खोज पत्रकार भिक्टर डुदारको आक्रमणमा परी मृत्यु भएको छ ।

उनले सन् २००६ मा किशोर अभिनेताको रूपमा टिन–हरर चलचित्र ‘द पिट’ बाट डेब्यू गरेका थिए । पछिल्लोपटक उनी क्लासमेटमा देखिएका थिए ।

युद्धमा मारिनु केही दिनअघि अभिनेता लीले युक्रेनी शरणार्थी च्यारिटीको लिङ्क पोस्ट गरेर मानिसहरूलाई सहयोग तथा स्वयम्सेवक हुन आग्रह गरेका थिए ।

आफ्नो अन्तिम इन्स्टाग्राम पोस्टमा उनले आफू र एक सहकर्मीले हाँसिरहेको फोटो पोस्ट गरेका थिए ।

उनले उक्त पोस्टमा लेखेको थिए, “हामी ठिक हुनेछौँ र सबै कुरा युक्रेन हुनेछ ।”
बीबीसी