राजनीति

एमाले पार्टीबाट कारबाही गाउँपालिका उपाध्यक्ष


बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको हितविपरीत काम गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो । मंगलबार जारी गरिएको प्रेस विज्ञप्तिमा राष्ट्रियसभाको निर्वाचनमा अन्तर्घात गरेको भन्दै कारबाही गरेको उल्लेख गरिएको छ ।

माघ १२ गते भएको राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका पाँच प्रमुख-उपप्रमुखले अन्तर्घात गरेको निष्कर्ष निकाल्दै एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले जिल्लालाई छानबिन गरी कारबाही गर्न निर्देशन दिएको थियो । पार्टीको निर्देशनबमोजिम पदीय आचरण र भूमिका निर्वाह नगर्ने र बेवास्ता गर्दै हिँड्ने, सामाजिक सञ्जालमा पार्टीको नीति, नेतृत्वविरुद्ध जाने र विरोधी पार्टीसँग साँठगाँठ गरी पदीय आचरणको दुरूपयोग गरेको भेटिएको छ’, जिल्ला अध्यक्ष सुरेन्द्र पाल र सचिव चक्र कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हाल पनि विरोधी पार्टीसँग हिमचिम गरेकाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ ।’