Breaking

आज यूक्रेनमा के–के भयो ? गोलाबारीको रुप परिर्वतन हुँदै


काठमाडौँ – युक्रेनमा रुसले गोलाबारी अझै रोकेको छैन । युक्रेनी नागरीकलाई देश छाड्न एक दिन युद्ध विराम गर्ने मस्कोको निर्णय पालना नभएको समेत अन्तर्राष्टिय संचार मध्यामहरुले जनाएका छन् । मंगलबार मात्र युक्रेनको सूमीमा भएको बमबारीमा ९ जना सर्वसाधरण मारिएका छन् ।

सूमीमा जारी हवाई बमबारीका कारण थुप्रै घर ध्वस्त भएका छन् भने एक भवनमा भयानक आगलागी भएको छ । रुसी सेनाले मंगलबार पनि युक्रेनी शहरहरूलाई हवाइ, जमिन र समुद्रबाट आक्रमण गरेका छन् । उनीहरूले राजधानी किभमा आक्रमणको तयारी गरिरहेको चेतावनी दिएका छन् ।

यसबाट आतंकित नागरिकहरू घेरामा परेर मारियुपोलमा फसेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । निरन्तर जारी रहेको आक्रमणको कारण १५ लाख भन्दा बढी मानिस शरणार्थीका रूपमा बाहिरिएका छन् । यद्यपी, अरु धेरै आन्तरिक रूपमा विस्थापित भएका छन् वा रुसी बमबारीले भग्नावशेषमा परेका शहरहरूमा फसेका छन् ।

उता मस्कोलाई दण्डित गर्ने उद्देश्यले रुसलाई अन्तर्राष्ट्रिय प्रतिबन्धहरू लगाइएको भए पनि आक्रमणलाई कम गर्न भने सहयोग पुगेको छैन । वाशिंगटनले अब युरोपसँग रूसी तेल आयातमा प्रतिबन्ध लगाउने बारेमा छलफल गरिरहेको बताएको छ । राजधानी किभलगायत देशभरका शहरहरूमा साइरन बज्ने र खार्किभ शहरमा तीव्र हवाई बमबारी जारी रहेको छ ।

यस शहरहरुमा हालैका दिनमा लगभग निरन्तर आगो लागिरहेको देखिन्छ । युक्रेनको सशस्त्र बलका जनरल स्टाफले एक विज्ञप्तिमा भनेका छन् ‘दुश्मनले युक्रेन विरुद्धको आक्रामक कारबाही जारी राखेको छ, किभ, खार्किभ, चेर्निहाइभ र सुमी घेराबन्द गरिएको छ । रूसले देशको दक्षिणमा पर्ने ओडेसा क्षेत्रको तुज्ली गाउँमा समुद्रबाट गोलाबारी गरेको छ ।

यहाँ जारी रहेको करिब १४ दिनको लडाइँमा सयौं सर्वसाधारण मारिएका छन् र हजारौं घाइते भएका छन् । संयुक्त राष्ट्रसंघले दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा द्रुत रूपमा बढ्दो शरणार्थी सङ्कट देखिएको जनाएको छ । युक्रेन र यसका छिमेकी देशहरूमा धेरैजसो महिला र बालबालिका रहेका छन् र उनीहरु शरणार्थीका रुपमा अझबढी संकटमा परेका छन् ।

दुवै पक्षले एकअर्कालाई युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाएका छन् । मानव पीडाको विनाशकारी दृश्यहहरु देखिएको छ । त्यस्तै, रुसले युक्रेनमा आक्रमण गर्दा युक्रेनमा त क्षति परेको छ नै । रुसलाई पनि आर्थिक रुपमा दिर्घकालीन असर पर्ने देखिएको छ ।

रुस संसारमा सबैभन्दा बढी प्रतिबन्ध झेल्ने देश बनेको छ । रुसले यो मामिलामा सिरिया र इरानलाई पनि पछि पारेको छ । निगरानी गर्ने साइट क्यासलम डट एआईका अनुसार २२ फेब्रुअरी अघि नै रुसमाथि २,७५४ प्रतिबन्ध लागिसकेका थिए ।

यसबाहेक युक्रेनमाथि हमलापछि रुसमाथि २,७७८ प्रतिबन्ध लागेका छन् । यससँगै कूल संख्या ५ हजार ५३२ सम्म पुगेको छ । हालसम्म शीर्ष स्थानमा रहने इरानमाथि कुल ३,६१६ प्रतिबन्ध लागेका छन् ।