देश

प्रधानमन्त्री श्रीलंका जाँदै


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा श्रीलंका जाने भएका छन् । सम्मेलन कोलम्बोमा चैत १५ मा आयोजना हुँदै छ । प्रधानमन्त्री देउवासहित परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का, परराष्ट्रसचिव भरतराज पौड्यालसहितको टोली कोलम्बो जानेछ । कोरोना महामारीका कारण तीन वर्षपछि पाँचौँ सम्मेलन श्रीलंकामा हुन लागेको छ ।

‘बिमस्टेकको पाँचौँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीसहित , परराष्ट्रसचिवसमेत श्रीलंका जाँदै छौँ’ परराष्ट्रमन्त्री डाक्टर खड्काले सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा भने । बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, बंगलादेश, म्यानमार र थाइल्यान्ड र भुटान छन् ।

बिमस्टेकको चौथो शिखर सम्मेलन १४ र १५ भदौ ०७५ मा काठमाडौंमा भएको थियो । सम्मेलनको दोस्रो दिन १८ बुँदे काठमाडौं घोषणापत्र जारी भएको थियो भने नेपालले पाँचौँ सम्मेलनका लागि श्रीलंकालाई अध्यक्षता हस्तान्तरण गरेको थियो । २० चैत ०७७ मा आयोजित परराष्ट्रमन्त्रीहरूको भर्चुअल बैठकले बिमस्टेकको बडापत्र टुंगो लगाउने सहमति गरेको थियो । तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी रहेको बैठकले पाँचौँ शिखर सम्मेलनमा सहकार्यसम्बन्धी विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने तय भइसकेको छ ।