Breaking

महिलाविरुद्ध हुने हिंसाजन्य कार्य र शोषणलाई दण्डनीय बनाएको छ : प्रधानमन्त्री


काठमाडौँ — ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सबैमा शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत महिलाका हक, अधिकार र न्याय सुनिश्चित गर्न योगदान गर्ने तथा जीवन समर्पण गर्ने महिला योद्धाहरूलाई विशेष सम्मानका साथ स्मरणसमेत गरेका छन् । नारी मुक्ति आन्दोलनका अभियन्ताहरूको पहलमा सन् १९१० को मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण गर्न तथा महिला हक अधिकार स्थापित गर्न संघर्ष सुरु गरेको दिनका रूपमा विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिएको छ ।

प्रधानमन्त्री देउवाले महिलालाई सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक अवसरहरूमा विनाकुनै भेदभाव समान अवसर उपलब्ध गराउन र लैंगिक समानताको बाटोमा अघि बढ्न आजको दिनले सबैलाई उत्प्रेरित गर्दै आएको उल्लेख गरेका छन् । ‘नेपालको संविधानले महिलाउपर हुने सबै प्रकारका भेदभावहरूको अन्त्य गर्दै समानुपातिक, समावेशी एवं समतामुलक समाजको निर्माण गर्ने संकल्प गरेको छ ।

संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा स्थापित गरी महिलालाई लैंगिक भेदभावविना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक, पैतृक सम्पत्तिलगायत सबै विषयमा समान हक आदिको प्रत्याभूति गरेको छ‚’ शुभकामना सन्देशमा छ‚ ‘राज्यका सबै निकायमा महिलाहरूको समानुपातिक समावेशितालाई सुनिश्चित गरेको छ । महिलाविरुद्ध हुने कुनै पनि किसिमको हिंसाजन्य कार्य र शोषणलाई दण्डनीय बनाएको छ ।’

महिला सशक्तीकरण हामी सबैको साझा सरोकारको विषय भएकाले तीनवटै तहका सरकारले आ–आफ्नो क्षेत्रबाट समन्वयात्मक तवरले पहलकदमी लिन आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले देशको मुल कानुनले गरेका समस्त व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन गरी महिलाको लैंगिक, सामाजिक, आर्थिक र राजनीतिक अधिकार सुनिश्चित गर्न हामी सबै प्रतिबद्ध हुन आवश्यक रहेकामा जोड दिएका छन् ।

प्रधानमन्त्री देउवाले लैंगिक समानता र महिला विकासका लागि राज्यका तर्फबाट भएका नीतिगत, कानुनी, संरचनागत एवं प्रक्रियागत सुधारको फलस्वरूप राजनीति र प्रशासनको क्षेत्रमा महिलाको प्रतिनिधित्व र सहभागिता उल्लेखनीय रूपमा वृद्धि भएको बताउँदै नेपालको लैंगिक विकास सूचकांकमा भएको सुधारबाट राज्यले महिला हक अधिकारको क्षेत्रमा अवलम्बन गरेका नीति र कार्यक्रमहरूले राम्रो प्रतिफल दिएको मान्न सकिन्छ भनी उल्लेख गरेका छन् ।