काठमाडौँ — नागार्जुन नगरपालिका–६ रामकोटस्थित डाँडापौवामा सोमबार राति विष पिएको परिवारका ५ जनामध्ये ४ जनाको गम्भीर अवस्थमा उपचार भइरहेको छ । ६२ वर्षीया इन्दिरामाया प्रधान सहित विष पिएका ४ जनाको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको हो । ३३ वर्षीय सुवर्णमान प्रधानको गएराति नै मृत्यु भयो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीका अनुसार भेन्टिलेटरमा उपचार गराइरहेको चार जना बोल्न सक्ने अवस्थामा छैनन् । इन्दिरामाया प्रधानसहित ३८ वर्षका भिम प्रधान, ३५ वर्षीया मन्दिरा डंगोल र ११ वर्षीया सुप्रेणा प्रधानको अवस्था गम्भीर छ ।
डाडाँपौवास्थित डा उद्धव पुरीको घरमा उनीहरु डेरामा बस्थे । डेरामा विषका बट्टाहरू र पानीको बोतलमा घोलेर बाँकी रहेको विष फेला परेको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार उनीहरुले विष पिउनुअघि लेखेको नोट भेटिएको छ । नोटमा उनीहरुले लेखेका छन्, ‘हामी संयुक्त रुपमा बिदा हुँदैछौँ । सो परिवारले विषमा सिटामोल धुलो बनाएर जुसजस्तो घोल बनाएको भेटिएको छ । ४ वटा बोटलमा घोलेर पिएको बाँकी रहेको विष प्रहरीले अनुसन्धानका लागि संकलन गरेको छ । उनीहरु मध्ये केही मानसिक रोगको समस्यामा थिए । प्रहरीले घटनाको कारण आर्थिक समस्या हुनसक्ने आँकलन गरेको छ । तर, यकिन कारण खुल्न बाँकी रहेको एसपी मैनालीले बताए । घटनाबारे महानगरीय प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको छ ।
’


प्रतिक्रिया