काठमाडौँ — युक्रेनमाथि आक्रमण जारी राखेको रुसले सर्वसाधारण तथा विदेशी नागरिकलाई बाहिर निस्किन दिन आज युद्धविराम गर्ने भएको छ । संयुक्त राष्ट्र संघका लागि रुसी राजदूत वासिली नेबेन्जियाले मानवीय करिडोरका लागि रुसले मस्कोको समयअनुसार बिहान १० बजेदेखि युद्धविराम गर्ने बताएका छन् । यो समयमा राजधानी किभ, चेर्निगोभ, सुमी र मारियुपोलबाट युक्रेन छोड्नेहरुका लागि मानवीय करिडोर खुला गर्न लागिएको हो ।
यसअघि हिजो पनि रुसले मानवीय करिडोरका लागि युद्धबिरामको प्रस्ताव गरेको थियो । तर युक्रेनी राष्ट्रपति भोलोमिरि जेलेन्स्कीले युक्रेनबाट रुस र बेलारुसतर्फमात्र जान मिल्ने गरी करिडोर खोल्न लागेको भन्दै आपत्ति जनाएका थिए । जेलेन्स्कीले मानिसहरु जुन मार्गबाट देश छोड्ने चाहे पनि जान पाउनुपर्नेमा रुसले फन्दामा पार्ने गरी करिडोर खोल्न खोजेको भन्दै रुसी प्रस्ताव अनैतिक भएको बताएका थिए । पछिल्लो पटक रुसले गरेको मानवीय करिडोर खोल्ने प्रस्तावलाई स्पष्ट पार्दै राष्ट्र संघीय दूत नेबेन्जियालाई मानिसहरु जुन मार्गबाट बाहिरन चाहे पनि पाउने दाबी गरेका छन् ।
अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीले पनि रुसले खोल्ने भनेको मानवीय करिडोर क्षेत्रमा विस्फोटक पदार्थ राखेको पाइएको बताएको छ । यसैबीच रुसले आक्रमणको तेह्रौँ दिनसम्म युक्रेनका ठूला सहरमा गोलाबारी तीव्र पारेको छ । रुसी सेनाले आवसीय क्षेत्रहरुमा बम खसाली रहेको युक्रेनी अधिकारीको भनाइ छ ।


प्रतिक्रिया