देश

बाघ गणनालाई राखिएका क्यामेरा हराए


काठमाडौँ — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका स्वचालित चार वटा क्यामेरा हराएका छन् । निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत नरेन्द्र अर्यालका अनुसार कृष्णपुर नगरपालिकाको दोमिल्लामा दुई, डडेल्धुराको आलिताल र चिरकिट्टेमा एक एक गरी चार वटा क्यामेरा हराएका छन् । बाघ गणनाका लागि राखिएका ठाउमा क्यामेरा फेला परेका छैनन् , उनले भने, “कसले कुन प्रयोजनका लागि निकालेर लगेको भन्नेबारे अनुसन्धान भइरहेको छ । उनका अनुसार निकुञ्ज क्षेत्रभित्रै एउटा क्यामेरा हात्तीले फुटालेको र अर्को राखेको ठाउँभन्दा ५० मिटर पर बाघले तानेर छाडेको भेटिएको छ ।

बाघ गणनाका लागि निकुञ्जले त्यसको आसपास क्षेत्रमा स्वचालित क्यामेरा जडान गरेको हो । शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा दुई किलोमिटर लम्बाइ र दुई किलोमिटर चौडाइ भएको २६० वटा ग्रीडमा विभाजन गरी बाघ गणनाको कार्य अगाडि बढाइएको थियो । निकुञ्जले ५२० वटा स्वचालित क्यामेरा जडान गरी बाघ गणनाको कार्य गरेको छ । निकुञ्जअन्तर्गतका चाँदमारी, शुक्लाफाँटा, बेलडाँडी र हिरापुर गरी चार स्थानमा, डिभिजन वन कार्यालय कञ्चनपुरअन्तर्गत तिलकेनी, बेदकोट, दोमिल्ला र डाडाजाई गरी चार र डडेल्धुराका आलिताल, नाउला र चिरकिटेमा गरी ११ स्थानमा क्याम्प राखेर बाघ गणनाको कार्य गरिएको छ ।

जम्मा २० क्याम्पमा ७० प्राविधिक र पाँच वटा हात्ती खटाएर गणना कार्य गरिएको अधिकृत अर्यालको भनाइ छ । माघ २९ देखि २१ दिनसम्म बाघ गणनाको कार्य गरिएको हो । बाघ गणनाका लागि राखिएका स्वचालित क्यामेराले खिचेका फोटो ग्रिडअनुसार छुट्याउने कार्यमा प्राविधिकको टोलीले काम अगाडि बढाएको छ । फोटो विश्लेषणका आधारमा विभागले बाघको सङ्ख्या यकीन गरी सार्वजनिक गर्ने उनले बताए । गत वर्षको तुलनमा बाघको उपस्थिति उत्साहजनक रहेको उनको भनाइ छ । गत वर्षको गणनामा निकुञ्जमा १७ बाघ देखा परेका थिए । निकुञ्जमा बाघ गणना सन् २००९ देखि हुँदै आएको छ ।