Breaking

मधेसका ४ जिल्लामा आज कांग्रेसको अधिवेशन


काठमाडौँ — मधेस प्रदेशका चार जिल्लामा आज नेपाली कांग्रेसले अधिवेशन गर्दैछ । सर्लाही, रौतहट, धनुषा, र सिराहामा आज अधिवेशन हुने कांगेसले जनाएको छ ।

यसअघि विभिन्न कारणले रोकिएका अधिवेशन आज गर्न लागिएको हो । अधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व छनोट हुने सम्भावना लगभग नभएको नेताहरुले बताएका छन् । सर्लाहीमा संस्थापन पक्षबाट सुरेन्द्र सिंह र संस्थापन इतरबाट लक्ष्मण राय यादव सभापति पदका लागि चुनावी मैदानमा छन् ।

त्यसैगरी रौतहटमा संस्थापन पक्षबाट सुनिल यादव र संस्थापनइतर समूहबाट हृदयनारायण यादव सभापति उठ्ने तयारीमा छन् । धनुषाको सभापतिका त्रिपक्षीय भिडन्त हुने अवस्था छ । नेताहरु योगेन्द्र पञ्जियार, सन्तोष यादव र दिनेश यादवबीच सभापतिपदमा प्रतिस्पर्धा हुने देखिएको हो । पञ्जियार कांग्रेस नेता विमलेन्द्र निधि निकट मानिन्छन् ।

यादवद्वय भने संस्थापनइतर समूहबाट सभापतिको उम्मेदवार बन्न लागेका हुन् । त्यसैगरी सिराहामा संस्थापन पक्षबाट रामचन्द्र यादव र संस्थापनइतरबाट रामसुन्दर चौधरी सभापति पदमा भिड्दैछन् ।