Breaking

प्रचण्डले गर्दा माओवादी संकटमा


काठमाडौँ – सधैं अस्थिर र अलमलमै रहने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्णय गर्न हतारिदैनन् । जसको क्षति उनी आफैँ र पार्टीले ब्यहोर्दै आएको छ । जुनसुकै राजनीतिक मुद्धामा समेत अलमल नै रहने प्रचण्ड यतिबेला पनि त्यस्तै अवस्था छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै आफ्नो पार्टी दोस्रो बन्ने रिपोर्ट पाइसकेको तर पहिलो बन्नुपर्ने इच्छा जाहेर गरे । र चुनावसम्मै गठबन्धन कायम रहने विश्वाससमेत केन्द्रीय सदस्यहरुलाई दिलाए ।

मुलतः पार्टीले जित्ने कि हार्ने गठबन्धनकै भरथेकमा परेपछि एमसीसी जस्तो विवादित मुद्धामा सहमति जनाएका प्रचण्ड गठबन्धनकै बलमा चुनावमा गएर जितेर आउन चाहन्छन् । तर अक्क न बक्कको अवस्थामा माओवादी फसेपछि आगामी चुनाव निकै चुनौतिपूर्ण देखिन्छ ।

बैशाख ३० मा स्थानीय तहको निर्वाचन तोकिएका बेला माओवादीको कट्टर विरोधी नेकपा एमाले केन्द्रदेखि गाउँ तहसम्म चुनावी गतिवधि चलाइरहेको छ । गठबन्धनकै नेतृत्व गरेको नेपाली काँग्रेससमेत कार्यतालिका नै बनाएर घरदैलोमा लागिपरेको छ ।

तर आन्तरिक मतभेदमै गिजोलिएको माओवादी स्थानीय तह पहिला कि संसदीय निर्वाचन पहिला भन्दै आफैँ कार्यदिशाविहिन बनेको छ । जसले पार्टीभित्रै असन्तुष्टि बढेको छ ।

एमसीसीमा प्रचण्डले साथ दिएपछि असन्तुष्ट बनेको नारायणकाजी श्रेष्ठ समूहले पार्टीभित्र अन्तरसंघर्ष चर्काइरहेको छ । पुस ११ देखि १९ सम्म आठौं महाधिवेशन चलाएर पनि आफुलाई अध्यक्ष बनाउनेबाहेक अन्य पदाधिकारी चयनमा असफल भएका प्रचण्ड पार्टीभित्रै धुव्रीकरण नै मिलाउन सकिरहेका छैनन् ।

मुलतः पार्टीलाई अर्णियको बन्दी बनाउने र एकल निर्णय गर्ने प्रचण्ड पारिपार्टीकै कारण माओवादी अलमलमै बाँचिरहेको छ । एमसीसीमा पार्टीले निभाएको दोहोरो भूमिका, नेताहरुको जिम्मेवारी बाँडफाँडमा ढीलासुस्ती र पदाधिकारी चयन गर्दा आगामी चुनावमै पार्टी विभाजित हुनसक्ने भयले दबाबमा परेका प्रचण्ड चुनावमा कसरी होमिने भन्ने परिपक्क मानसिकता बनाउन सकिरहेका छैनन् ।

यस्तै अलमलले ६४ को निर्वाचनमा ३१ लाख बढी मत ल्याएको माओवादी ७० का बेला १६ लाखमा झरेको थियो । ७४ को निर्वाचनमा त झन् १३ लाखमै खुम्चिएपछि अबको निर्वाचनमा माओवादीको हाल के होला आम चासोमा छ ।