Breaking

स्थानीय निर्वाचन तोकिएकै मितिमा हुनेमा आशंका, संघीय निर्वाचन पहिले गर्ने दलहरुको तयारी


काठमाडौँ – स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरु पुन अर्ली इलेक्शनबारे बहशमा जुटेका छन् । एमालेले निरन्तर सदन अवरोध गरेको भन्दै सत्ता गठबन्धनले अर्ली इलेक्शनमार्फत देशलाई निकास दिनुपर्ने बताउँन थालेको छ । तर प्रमुख प्रतिपक्षी दल एमालेले भने यसलाई स्थानीय निर्वाचन भाड्ने चलखेलको रुपमा अथ्र्याउँदै आएको छ ।

नेकपा एमालेका सांसद भीमबहादुर रावलले निरन्तर संसद् अवरोध हुनु जनताको सार्वभौम अधिकार माथिको खेलवाड भएको बताएको छ । आइतवार प्रतिनिधि सभाको बैठकमा सहभागि हुन संसद् भवन पुगेका सांसद रावलले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निरन्तरको संसद् अवरोध जनताको सार्वभौम अधिकार माथिको खेलवाड भएको बताए ।

उनले संसद् अवरोध गर्नु गैरजिम्मेवार काम भएको टिप्पणी गरे । सांसद रावलले देशको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका अलपत्र पारिएको भन्दै यस्तो गर्नु देशलाई कमजोर पार्ने सुनियोजित षड्यन्त्र भएको आशंका व्यक्त गरे ।

त्यस्तै संसद् भवनमै सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संसद निरन्तर अवरोध हुनेभए संसद् भंग गरेर चुनावमा जानुपर्ने धारणा व्यक्त गरे । संसद चल्न नदिएर संसदलाई पंगु बनाइएको भन्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको बितण्डालाई सामना गर्नका लागि संसद भंग गर्नुपर्ने बताए ।

संसद् भंग गरिदिए केपी ओलीको हंगामा गर्ने ठाउँ नरहने उनको टिप्पणी छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुक अर्लि इलेक्शनमा जाने भन्ने कुरा आफुलाई थाहा नभएको टिप्पणी गरे । उनले वर्तमान सरकार पुरा अवधिसम्म रहने र संसदको अवधि समाप्त भएपछि मात्रै चुनाव हुने उनले बताए ।

नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले अर्लि इलेक्शनको सम्भावना नभएको बताए । बैशाखमा स्थानीय तहको निर्वाचन हुँदा अर्लि इलेक्शन गर्ने समय नहुने उनले बताए ।

सांसद पुनले संसद लामो समयदेखि अनिर्णयको अवस्थामा रहँदा विघटन गरेर अर्लि इलेक्शनमा जाने कुरा राजनीतिक रुपले ठिकै भएपनि नेपालको भौगोलिक जटिलता र मौसमी अवस्थाका कारण पनि त्यसो गर्न नसकिने बताए ।