विदेश

युक्रेन-रूसबीच तेस्रो चरणको शान्ति वार्ता सोमवार हुने


काठमाडौँ — रूस र युक्रेनबीचको युद्ध चर्किएका बेला तेस्रो चरणको शान्ति वार्ता सोमवार हुने भएको छ । यसअघि पनि दुई देशबीच वार्ता भएको थियो । वार्ता युक्रेन र बेलारूसको सीमामा भएको थियो । तर‚ यस पटक वार्ता कहाँ हुने भन्ने खुलाइएको छैन । रूसी र युक्रेनी अधिकारीहरूबीच भएको पहिलो र दोस्रो चरणको वार्तामा कुनै निष्कर्ष निस्किएको छैन । तेस्रो चरणको वार्ता सोमवार हुने जानकारी युक्रेनका तर्फबाट वार्ता टोलीका सदस्य डेभिड आरकसानले जानकारी दिएका छन् ।

उनले आफ्नो फेसबुक स्टाटसमा युक्रेन र रूसबीच अर्को अर्थात् तेस्रो चरणको वार्ता सोमवार हुने जनाएका छन् । युक्रेनका अधिकारीहरूले यसअघिका दुई चरणको वार्तामा कुनै सफलता प्राप्त नभएकाले यसपटक पनि ठूलो नतिजा निस्किने अपेक्षा नगरिएको बताएका छन् । दुई दिनअघि भएको दोस्रो चरणको वार्ता सकिएपछि वार्तामा सहभागी दुवै देशका अधिकारीहरू आ(आफ्नो राजधानी फर्किएर आवश्यक परामर्श गरी यो तेस्रो चरणको वार्ता गर्ने बताएका छन् ।

रूस पछिल्लो चरणमा वार्ता जारी राख्न सहमत भएको थियो । सोही बमोजिम नै दुवै पक्ष वार्तामा बसेका थिए । रूस र युक्रेनले आगामी केही दिनभित्र नै अर्को उच्चस्तरीय वार्तामा बस्ने गत शुक्रवार बताइएको थियो । उता रूसले भने पछिल्ला दिनमा युक्रेनको राजधानी किभका आवासीय क्षेत्रहरूमा हवाई आक्रमण गरेको छ ।

रूसले युक्रेनको आवासीय क्षेत्रहरूमा गोलाबारी गरिरहेको आरोप लगाइएको छ । युक्रेनी राजधानी किभमा भने खतराको साइरनहरु निरन्तर बजिरहेको छ ।रूसले युक्रेनमाथि धेरै स्थानबाट हमला गरिरहेको छ । ती स्थानहरुमा युक्रेनी फौजको प्रतिवाद भने जारी छ ।