राजनीति

माओवादीमा मिलेन कुरा, बैठक स्थगित


काठमाडौँ —नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । आइतबार दिउँसो २ बजेका लागि बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने भनिएको केन्द्रीय समिति बैठक अन्ततः स्थगित गरिएको हो । आजै बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्ने भनिएको बैठक दिउँसो २ बजेका लागि स्थान नै परिवर्तन गरेर तय गरिएकोमा फेरि सोमबारसम्मका लागि स्थगित गरिएको हो ।

शुक्रबारको बैठकमा एमसिसी अनुमोदनपछि पार्टीमा देखिएको असन्तुष्टि, पार्टी पदाधिकारी चयन, आगामी निर्वाचनलगायत समसामयिक विषयमा छलफल गर्ने कार्यसूची थियो । पुस १८ गते सम्पन्न माओवादीको आठौँ महाधिवेशनले २४७ केन्द्रीय सदस्य चयन गरेको थियो । लगत्तै पुस १९ गतेको केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अध्यक्ष चयन गरेको थियो । त्यसपछि बैठक गत शुक्रबार बसेको थियो । माओवादीले अन्य पदाधिकारी अहिले चयन गरेको छैन ।

एमसिसी विवादले पार्टी एकता जोगाउनु नै चुनौती बनेको बेला प्रचण्डलाई पार्टी पदाधिकारी चयन गर्नु पर्ने अर्को दबाब पनि छ । पुषमा भएको महाधिवेशनले अध्यक्षबाहेक अरु पदाधिकारी चयन गर्न सकेको छैन । माओवादीमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने प्रावधान रहेको छ ।

माओवादीले २९९ मध्ये २३६ जना केन्द्रीय सदस्य र अध्यक्षमा प्रचण्डलाई चयन गरेको थियो । पार्टी पदाधिकारी सर्वसम्मत रुपमा चयन गर्ने प्रचण्डले प्रयास गरेको भएपनि आकांक्षी धेरै भएकाले समस्या परेको छ । पार्टीको अध्यक्षपछिको जिम्मेवार पद महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनले बलियो रुपमा अडान लिइराखेका कारणले प्रचण्डलाई समस्या परेको छ । देव गुरुङ र पम्फा भुसालले पनि महासचिवकै दाबेदार हुन् ।

महासचिवका दाबेदार भुसाल र गुरुङलाई प्रचण्डले उपाध्यक्ष बनाउने माओवादी वृत्तमा चर्चा छ । प्रचण्ड सर्वसम्मत रुपमा पदाधिकारी छान्न चाहन्छन्। तर, नेताहरुको अडान सानो छैन । नेताहरुको अडानकै कारणले प्रचण्डले अहिले पदाधिकारी चयन नगर्ने मनस्थितिमा बनाएकाले गृहकार्य थालिरहेको बुझिएको छ ।

महासचिव कसलाई बनाउने भन्ने विषयमा नेता कार्यकर्ता पंक्ति विभाजित हुन थालिसकेका छन् । विश्वास पात्रहरू नै महासचिवको दौडमा रहेको र नेता श्रेष्ठको असन्तुष्टिले पदाधिकारी चयन प्रचण्डका लागि थप पेचिलो बनेको छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।