काठमाडौँ — बाँके जिल्लाको नेपालगञ्जको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि थप समस्यामा परेको छ । ३ सय ५० जनाको क्षमता रहेको कारागारमा ८ सय १४ जना कैदीबन्दी राखिएपछि उनीहरुले विभिन्न सरुवा रोगहरुको सामना गर्नु परेको र न्यूनतम सुविधासमेत पाउनबाट बञ्चित भएका छन् । धेरै कैदीबन्दीको चापका कारण नयाँ कारागार भवन निर्माण कार्यमा पनि समस्या देखिएको नेपालगञ्ज कारागारका जेलर राजकुमार सोनकरले बताए । उनले क्षमताभन्दा बढी कैदीबन्दीका कारण लुतो लगायतका सरुवा रोगको समस्या र शौचालयको समस्या हुने गरेको बताए ।
कैदीबन्दीलाई व्यवस्थित रुपमा राख्ने उद्देश्यले सरकारले बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ३ नौबस्तामा ३ हजार क्षमताको अत्याधुनिक क्षेत्रीय कारागार भवन निर्माण शुरु गरेको ५ वर्ष बितिसक्दा पनि पूरा हुन नसक्दा थप समस्या बढेको उनको भनाइ छ । जेलर सोनकरले क्षेत्रीय कारागार भवन निर्माणमा ढिलाई हुँदा कारागार प्रशासनलाई कैदीबन्दीको व्यवस्थापन गर्न सकस भएको बताए । कारागार निर्माण गर्न मूल्य अभिवृद्धि कर भ्याटबाहेक ५३ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा ठेकेदार कम्पनी पप्पु–रसुवा जेभीले ३८ करोड ६८ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको थियो।
२०७३ कात्तिक ८ गते सम्झौता हुँदा ठेकेदार कम्पनीलाई काम सम्पन्न गर्न ३६ महिनाको समय दिइएको थियो। तर, यो समयमा कामपूरा नहुँदा सो निर्माण कम्पनी कालोसूचीमा परेको छ । अहिले रसुवा निर्माण कम्पनीले एक्लै काम गरिरहेको छ । ठेक्का सम्झौता अनुसार निर्माण कम्पनीले २०७६ कार्तिक ८ गतेसम्म कारागार भवन निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर अहिलेसम्म करिव ८० प्रतिशत काम मात्रै पूरा भएको छ।
पटक–पटक म्याद थपेर चैत समान्तसम्म पुर्याइएको तर बाँकी अवधिमा २० प्रतिशत काम पूरा हुने सम्भावना कम रहेको बताउँछन् संघीय आयोजना कार्यान्वयन इकाई नेपालगञ्ज, बाँकेका इन्जिनियर सुदिप भा । उनले कारागार व्यवस्थापन विभागले निर्माण कार्यलाई तीव्रता दिन निर्माण कम्पनीलाई ताकेता गर्दै आएको पनि बताए । बाँकेमा मात्रै नभएर देशभरका कारागारमा क्षमताभन्दा धेरै कैदी बन्दी छन् ।


प्रतिक्रिया