Breaking

प्रचण्ड—माधव चमेरा हुन, हात्ती काँग्रेससँग निर्वाचनमा सहकार्य हुँदैन


काठमाडौँ – एमसीसी परियोजनाको किचलो समाप्त भएसँगै अहिले मुलुकमा चुनावी माहौलमा तातेको छ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेस त समयमै स्थानीय निर्वाचन गराउँनेमा ढुक्क र मंसीर अघि नै संघीय संसदको चुनाव हुन सक्नेमा आशावादी देखिन थालेको छ ।

गठबन्धनको सरकार बनेसँगै प्रमुख प्रतिपक्ष नेकपा एमालेले सदनमा अवरोध गरिरहेको छ । नेकपा एमालेबाट चोइटिएर गएको नेकपा एकिकृत समाजवादीका सांसद् र सभामुख अग्नि प्रसाद सापकोटालाई कारबाहीको माग गर्दै एमालेले सदनलाई चलायमान बनाउँन दिईरहेको छैन् ।

एमालेको कदमले दिक्क बनेका सत्ता घटक दलहरु अब भने आगामी मंसीर अघि नै संघीय संसदको चुनाव गर्ने गृहकार्यमा पुगेका छन् । सत्ता घटक दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रधानमन्त्रीका अहिलेका विश्वासपात्र महामन्त्री गगनकुमार थापाले एमालेले संसद् सुचारु गर्न नदिने हो भने चाँडै संघीय संसद्को निर्वाचन गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाई रहेका छन् ।

उनीहरुले नयाँ संसदका लागि निर्वाचनमा छिटो जानुको विकल्प नरहेको तर्क गर्न थालेका छन् । यता महामन्त्री थापाले एमालेले संसद् चल्न दिएन भने मंसीर अघिनै संघीय संसदको निर्वाचन हुने र आफ्नो पार्टीले बहुमत ल्याएर पाँच वर्ष मुलुक शान्दार ढंगले चलाउने दाबी मात्रै गरेनन् स्थानीय तहको निर्वाचन बैशाख ३० गते नै हुने ठोकुवा गरे ।

कार्यक्रममा काँग्रेस उपसभापति धनराज गुरुङले आफ्नो पार्टी निर्वाचनतर्फ लम्किएको उल्लेख गर्दै एक्लै निर्वाचनमा लडने संकेत गरेका छन् । प्रचण्ड, माधव नेपालहरुलाई चमेराको संज्ञा दिँदै उनले उनीहरुले साथ छोड्दैमा आफ्नो पार्टीलाई निर्वाचनमा केही फरक नपर्ने दाबी गरे ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले रुपान्तरित काँग्रेसनै मुलुकको भरोसा भएको दावी गरे । उनले मुलुकको समृद्धिका लागि काँग्रेस एकतावद्ध हुने र मुलुकलाई विकल्प दिनेगरी अघि बढने संकल्प पनि गरे ।

लोकतन्त्रको सवाल, मुलुकको विकास र समृद्धिको सवालमा काँग्रेस एकतावद्ध भएर अघि बढछ भन्ने कुरा संसदबाट पारित गरिएको एमसीसीले पनि देखाएको शीर्ष नेताहरुले स्मरण गराएका थिए । यस्तै पार्टीमा गुटगत राजनीति कम हुँदै गएको नेताहरुले बताएका थिए ।